ढोरपाटन नगरपालिकाको नीति कार्यक्रममा, यहाँको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्धन गर्न‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नगरभित्रका पर्यटकीय स्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचार प्रसारकालागि स्थानिय सञ्चार माध्यमहरुसँग आवश्यक सहकार्य गरी यो अभियान सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ । साथै, नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले डकुमेन्ट्री तयार गरिने समेतका कार्यक्रम समावेश गरिएको छ ।
नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय सङ्घसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने, नेपालका विभिन्न पर्यटकीय स्थल मध्ये महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने भनिएको छ ।
यस्तै कोभिड—१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिइने तथा पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्त्वपुर्ण स्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदल मार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रमले बोलेको छ ।
ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवम् आय-आर्जनसँग जोड्न बिभिन्न वडाहरुमा सञ्चालित होमस्टेहरुलाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइने भनिएको छ ।
ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं. ४ स्थित रिखुवा, महखोला झरना लगायतका बिभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ ।
नगर क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय स्थानहरु बिच पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिनेछ । नगर तथा आसपासका क्षेत्रहरुको पर्यटन सम्भावनालाई समेट्ने गरी एक बृहत पर्यटन गुरुयोजना तयार गरिने समेत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
गत असार १० गते घोषणा गरिएको नीति कार्यक्रम अनुसार आवश्यक छलफल गरि आज वजेट घोषणा गरिने कार्यक्रम रहेको छ ।
नगरपालिकाले नगरपालिकाको नवौं नगरसभाबाट रु. ४४ करोड, ६५ लाख, १० हजार वरावरको वजेट विनियोजन हुँदैछ ।










