७२ घण्टाभित्र माग पूरा नभए पेट्रोल पम्प बन्द गर्ने र ढुवानी रोक्ने विद्यार्थी संगठनको चेतावनी

७२ घण्टाभित्र माग पूरा नभए पेट्रोल पम्प बन्द गर्ने र ढुवानी रोक्ने विद्यार्थी संगठनको चेतावनी
२०७८ असार २५ गते शुक्रबार ०६:३०

संयुक्त विद्यार्थी संगठनले ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । बिहीबार साँझ काठमाडौंमा बसेको पाँच विद्यार्थी संगठनहरुको बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि ७२ घण्टासम्ममा फिर्ता...

संयुक्त विद्यार्थी संगठनले ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

बिहीबार साँझ काठमाडौंमा बसेको पाँच विद्यार्थी संगठनहरुको बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि ७२ घण्टासम्ममा फिर्ता गर्न माग गर्ने निर्णय गरेको अखिल क्रान्तिकारी प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले दिएको समयसीमाभित्र माग पूरा नभए असार २७ गतेदेखि देशभरका पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरू अनिश्‍चितकालका लागि बन्द गर्ने निर्णय भएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं ।

मूल्यवृद्धि तथा प्रधानमन्त्री केपी ओलीको अधिनायकवाद, स्वेच्छाचारी र निरंकुश शासनको विरोध एवं संसद् पुनर्स्थापनाको माग गर्दै बिहीबार विद्यार्थीहरुले देशभर सिटी जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा काठमाडौंको पब्लिक युथ क्याम्पसबाट आन्दोलनमा सहभागी नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, प्रज्ज्वल अधिकारी, सविन गौतम, सागर खत्री, रवीन्द्र दाहाल, सागर भट्टराई र बलराम उप्रेतीलाई गिरफ्तार गरेको जनाइएको छ । शान्तिपूर्ण प्रदर्शनबाट गरिएको गिरफ्तारीको भर्त्सना गर्दै ती संगठनहरुले तुरुन्तै रिहाइ गर्न माग गरेका छन् ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०६:३०
प्रतिक्रिया दिनुहोस्