कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति हुनुभएको छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्ति गरेको हो।
हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरूवा गरिएको ती मन्त्रीले जानकारी दिनुभयो ।
यसअघि मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिनुभएको थियो ।
अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाउनुभएको थियो भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउनुभएको थियो । उहाँको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको पुनर्नियुक्त गरेको थिएन। उहाँको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उहाँलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।
कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए।










