मेलम्चीमा किन आयो यति ठूलो बाढी ? अध्ययनपछि विज्ञको यस्तो निष्कर्ष

मेलम्चीमा किन आयो यति ठूलो बाढी ? अध्ययनपछि विज्ञको यस्तो निष्कर्ष
२०७८ साउन ३१ गते आईतबार ०४:२१

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीले त्यस आसपासका दर्जनौं घरहरूमा ठूलो क्षति पुर्‍यायाे। बाढीले हालसम्म २० जना भन्दा बढी बेपत्ता भएका छन् भने ६ जना भन्दा बढीको शव भेटिएको छ। फेरि साउन १७ गते पनि...

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीले त्यस आसपासका दर्जनौं घरहरूमा ठूलो क्षति पुर्‍यायाे।

बाढीले हालसम्म २० जना भन्दा बढी बेपत्ता भएका छन् भने ६ जना भन्दा बढीको शव भेटिएको छ। फेरि साउन १७ गते पनि त्यही क्षेत्रमा बाढी आयो।

बाढीले रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका दर्जनौ घर बगाएको छ।

बाढीपश्चात विज्ञहरूले बाढीबारे अध्ययन गरेका छन्। नेपाल वातावरण पत्रकारहरूको फोरम (नेफेज)ले आइतबार आयोजना गरेको मेलम्चीको बाढीबारे भर्चुअल हकाहाकी बहसमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्वविद् शिव बास्कोटाले बाढी पहिरो आउनुमा केही कारण रहेकाे बताए।

उनका अनुसार जमिनदेखि तीन हजार ६ सय ४०  मिटर उचाइमा भीमथाङ छ। त्यहाँ पहिला पनि पहिरो गएको पाइएको छ। त्यहाँ असार महिनामा धेरै पानी परेको पनि पाइयो। त्यसपछि जमिनले पानीको भार थाम्न सकेन। २०७२ मा आएको भूकम्पले पनि चट्टान र जमिनलाई असर पुर्‍यायाे।

भने, ‘ठूलो पानीले त्यहाँको माटो बग्दै गयो र मेलम्ची खोला र भीमथाङ खोला थुनिएको पाइयो, त्यो थुनिएको कटान सबै बग्दा मेलम्ची बजार डुबेको पाइयो।’ कटान हुँदै गएकाले १७ गते पनि पुन: बाढी गएको उनले बताए।

‘मेलम्ची र भीमथाङ खोला साँघुरो कोचमा पानी बगेको पनि रहेछ,’ उनले भने। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका इन्जिनियर डा.अरुणभक्त श्रेष्ठ एक कारणले मात्रै नभई धेरै कारणले मेलम्ची क्षेत्रमा धेरै क्षति पुर्‍याएकाे बताउँछन्।

उनले भने, ‘मेरो प्रारम्भिक अध्ययनमा मौसमको धेरै भूमिका देखाएको पाइयो, पहिला भीमथाङ डाँडामा एउटा हिमताल रहेको देखिन्छ। र त्यो पछि सर्दै गएको देखिन्छ, सर्दै जाँदा जमिन कटान हुँदै गएर माटो बग्यो, तल कटान हुँदै गर्दा माथिको जमिन तानिएर खोला थुनियो।’

जोखिम अझै कायमै

विज्ञहरूले अझै मेलम्चीमा बाढी आउने जानकारी दिएका छन्। विज्ञ बास्कोटाले भने, ‘अझै माथिका करिब १५ लाख ट्रक माटो, गिटी ढुंगा छ, त्यो विस्तारै कटान हुँदै जान्छ र बन्द भई एकै पटक बग्दा फेरि नि मेलम्ची क्षेत्रमा असर पुर्‍याउने सम्भावना बढी छ।’

उनका अनुसार भीमथाङ चौरबाट पनि अझै माटो बग्ने देखिएको छ। त्यसैले वर्षायाम नसकेसम्म मेलम्ची बजार आसपासमा बस्न योग्य वातावरण छैन। अर्का भूगर्भविद् विशालनाथ उप्रेतीले पनि यस्ता प्रकोप अझै बढ्दै जाने बताए।

भने, ‘सरकारले ठाउँ ठाउँमा बाढी पहिरो जस्ता मापन राख्ने स्टेसन राख्नुपर्‍याे, यस्तो प्लानिङ भएन भने अझै मेलम्चीमा मात्रै होइन अन्य ठाउँमा पनि यस्तो प्रकोप आउने छ।’

प्रकाशित मिति २०७८ साउन ३१ गते आईतबार ०४:२१
प्रतिक्रिया दिनुहोस्