रातभरको पानीले भिजेर पोखरामा ६११ वटा कालिज मरे, अन्दाजी १७ लाखको क्षति

रातभरको पानीले भिजेर पोखरामा ६११ वटा कालिज मरे, अन्दाजी १७ लाखको क्षति
२०७८ भदौ १० गते बिहिबार ०६:२६

पोखरा- पोखरा–८ आलुमाइला चोकका सुवास गुरुङले हचुवामा कालिज फार्म खोलेका थिएनन् । उनले कालिज पाल्न ६ महिना लामो अध्यन गरेका थिए । कालिज पाल्ने तरिका र उपचारका सामान्य विधी सिकेका थिए । पोखराकै कुनो कालिज फार्ममा उनले कालिज पाल्ने...

पोखरा- पोखरा–८ आलुमाइला चोकका सुवास गुरुङले हचुवामा कालिज फार्म खोलेका थिएनन् । उनले कालिज पाल्न ६ महिना लामो अध्यन गरेका थिए । कालिज पाल्ने तरिका र उपचारका सामान्य विधी सिकेका थिए । पोखराकै कुनो कालिज फार्ममा उनले कालिज पाल्ने तरिका र यसका फाइदा बेफाइदा बुझे र कालिज पालनमा होमिएका थिए ।

कालिजलाई घाम, पानी, जाडो र गर्मीले असर गर्दैन भनेर उनलाई भनिएको थियो । अन्य प्रजातीका पशुपंक्षी पाल्न भन्दा कालिजमै उनले धेरै फाइदा देखे । ‘एउटै कालिजको मुल्य ३५ सय पर्छ, जाडो, गर्मी र पानीले केही गर्दैन भनेर कालिज फार्म खोलेको हुँ,’ सुवासले भने, ‘१४ घण्टासम्म परेको भारी बर्षा पानी कालिजले सहन सकेन ।’

उनले पोखरा–११ मा सासु कालिज फार्म एण्ड रेष्टुरेण्ट संचालन गर्दैछन् । यसका लागि उनले २ करोड बढीको योजना बनाएका छन् । यसका लागि उनले काहुँडाडामा ६ रोपनी ३ आना जग्गा लिए । जसमा २ रोपनी कालिज फार्मका लागि छुट्याएका थिए । कालिज फार्म संचालनमा ल्याउँदा र रेष्टुरेण्टका काम थाल्दा उनको ५० लाख लगानी भइसकेको छ ।

रेष्टुरेण्ट अहिले निर्माणाधिन अवस्थामै छ । कालिज फार्म भने संचालनमा ल्याइसकेका थिए । उनले पोखराकै विभिन्न फार्मबाट किनेर ११ सय वटा कालिजका चल्ला फार्ममा राखे । कुनै ४० दिनका चल्ला थिए त कुनै १ दिनका चल्ला । उनले सिके अनुसार ८० दिन कालिजलाई खोरमा राखेर हुर्काए । हुँर्काउने क्रममै १७० वटा कालिज मरे ।

कालिजका चल्ला ८० दिन खोरमा राखेपछि बाहिर छाड्न सकिने सुवासको सिकाइ थियो । खोर बाहिर खुला ठाउँमा कालिज उँडेर अन्य जान नसकोस् भनेर जाली लगाए । त्यही जालीभित्र रहने गरी उनले खोरका कालिज बाहिर निकाले । शुक्रबार बाहिर निकालेर सुवासले कालिजलाई दानापानी दिए । खोर भन्दा खुला ठाउँमा कालिन पनि रमाएकै थियो ।

पोखरामा निरन्तर परिरहेको पानी अझै रोकिएको छैन । शुक्रबार पनि पानी परिरहेको थियो । उनले सिक्दा नै कालिजलाई बर्षाले केही असर गर्दैन भनेर सिकेका थिए । कालिजलाई जाली बनाएर राखिएकै ठाउँमा छाडेर सुत्न गए । विहान उठेर फार्म पुग्दा कालिज जिउँदो थिएन ।

बाहिर छाडेका ९३० वटा कालिज मध्ये ६११ वटा कालिज रातभरीको पानीले मरेछन् । सुवासले पोखराकै अन्य कालिज पालकलाई सोधे । पानीकै कारण कालिज मरेको उनले थाहा पाए । ‘भित्र खोरमा बसेको कालिज बाहिर निकाल्दा तापक्रम मिलेन,’ सुवासले भने, ‘भित्रबाट बाहिर निकाल्ने वित्तिकै लामो समय पानीले भिजेका कारण कालिज मरे ।’ उनका अनुसार कालिजमा कुनै रोगको लक्षण देखिएको छैन ।
कालिज फार्म खोल्ने वित्तिकै पहिलो चरणमा पालिएको कालिज नै आधा भन्दा धेरै मरेर गए । सुवासले मरेका कालिज सोमबार खाल्डो खनेर पुरेका छन् । अब बाँचेका ३१९ वटा कालिज मात्रै सुवासको फार्ममा छ । बाँचेका कालिज मर्न नदिन उनले जालीमाथि प्लाष्टिकले छोपेका छन् । बर्षाको पानीबाट कालिज जोगिएका छन् ।

सुवासका फार्ममा मरेका कालिज करिब ३ महिनाका थिए । उनका अनुसार पोथी कालिजले अण्डा पारेपछि मात्रै भाले विक्री गरिन्छ । यसका लागि कम्तिमा ७ महिना पाल्नुपर्ने सुवासले बताए । ‘अब तीन महिनापछि कालिज बेच्ने बेला हुन्थ्यो,’ उनले भने, ‘फार्ममै कालिज मर्दा मेरो १७ लाख रुपैयाँ क्षेती भयो ।’

कालिज पाल्दा पहिलो चरणमै ठुलो नोक्सानी व्यहोरेका सुवासले हिम्मत भने हारेका छैनन् । उनले फेरी कालिजका नयाँ चल्ला अर्डर गरेका छन् । १, २ दिनमै ५ सय वटा चल्ला ल्याउँदैछन् । पोखरामा रहेका अन्य कालिज फार्मबाट चल्ला अर्डर गरेको सुवासले बताए ।
लकडाउनका बेला कालिज फार्म र रेष्टुरेण्टको काम अघि बढाएका सुवासले आप्mनै फार्ममा उत्पादन भएको कालिज रेष्टुरेण्टमा पकाएर पस्कने धोको छ । ‘लकडाउनको समय भनेको फार्म खोल्ने र रेष्टुरेण्ट बनाउने समय हो,’ उनले भने, ‘पछि त पक्कै खुल्ला नि ।’

सुवासको सासु कालिज फार्म एण्ड रेष्टुरेण्ट रहेको काहुँडाडा पोखराको अर्को पर्यटकी क्षेत्र हो । जहाँबाट पोखरा शहर र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रष्ट देखिन्छ भने उत्तरतर्फ अन्नपूर्ण श्रृङ्खलाका सबैजसो हिमाल देखिन्छ । पोखरा भित्रका मात्रै नभएर अन्य ठाउँबाट आएका युवाहरु काहुँडाडा उक्लन थालेका छन् । त्यही सम्भावना देखेर नै सुवासले काहुँडाडामा लगानी गरेका हुन् ।

कालिज फार्म र रेष्टुरेण्ट चलाउन लागेका सुवास यसअघि नै बाख्रा पालक हुन् । पोखरा–२२ पुम्दीभुम्दीमा अहिले पनि उनको बाख्रा फार्म छ । जहाँ अहिले पनि ८० वटा बाख्रा छन् । २ जनाले कामदार राखेर बाख्राको हेरचाह गरिरहेका छन् । उनले खोलेको इन्द्रेणी बाख्रा फार्ममा कहिलेकाँही ११५ वटासम्म बाख्रा पुग्छ । बाख्रा पालनमा भन्दा काजिलमा फाइदा देखेर नै उनले कालिज फार्म र रेष्टुरेण्टमा लगानी गरेको बताए ।
सुवासको उक्त बाख्रा फार्म २०७२ मा दर्ता गरेर चलाएका हुन् । त्यसअघिदेखि नै उनले बाख्रा पाल्न थालेका थिए । अरु काममा भन्दा किसानीमै फाइदा भएकाले यतातिर लागेको उनको भनाई छ । कालिजमा गरेको पहिलो लगानी खेर गएपछि उनले छोटो भिडिओ बनाएर मृत कालिजलाई समवेदना दिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार ०६:२६
प्रतिक्रिया दिनुहोस्