छिमेकी राष्ट्र भारतको सिक्किम पुग्दै बागलुङ बलेवामा उत्पादित मौरीघार

छिमेकी राष्ट्र भारतको सिक्किम पुग्दै बागलुङ बलेवामा उत्पादित मौरीघार
२०७८ भदौ २९ गते मङ्गलबार ०८:१७

बागलुङमा उत्पादन भएका आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेको छ । बागलुङ नगरपालिका–१२,अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान...

बागलुङमा उत्पादन भएका आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेको छ । बागलुङ नगरपालिका–१२,अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलव्ध गराउन थालेको हो ।

सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीहरुसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलव्ध गराउने जिम्मेबारी पाएको थियो । पहिलो चरणमा २ सय २६ वटा घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताउनुभयो ।

‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मुल्य दुबै सारभूत भएको भन्दै हामी छनौटमा परेको सूचना आयो’, खत्रीले भन्नुभयो ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ ।’

अहिले पनि भारतबाटै मौरीका घार नेपालमा आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्नो लागि सुखद पक्ष भएको खत्रीले बताउनुभयो । ‘सुन्दै आएको छु वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छ, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

टुनीको काठबाट बनेका घरको माग छ । पहिलोपटक भारत निर्यात गर्न थालेको उद्योगले नेपालबाट भन्सार पार गाराउन पु¥याउनुपर्ने प्रक्रिया भने झण्झटिलो रहेको जनाएको छ । ‘युवाहरु किन यहाँ काम हुँदा हुँदै विदेशिन्छन भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन् तर बिक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु प¥यो’,खत्रीले भन्नुभयो,‘वातावरण सहज भए हाम्रो उत्पादन पनि बिदेश निर्यात हुने रहेछ ।’

उद्योगमा ९ जना कालिगडहरुले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरीघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँनुभयो । वार्षिक १ हजार २ सय घार उत्पादन गर्दै आएको उद्योगले पोखराबाट टुनीको काठ खरिद गरेर घार बनाउने गरिएको छ । मूल्य प्रतिघार ३ हजारदेखि ३ हजार ६ सय रुपैयाँसम्म रहेको छ । ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०८:१७
प्रतिक्रिया दिनुहोस्