मुगुमा फेरि बस दुर्घटना,मृतकको संख्या २४ पुग्यो, अधिकांश विद्यार्थी

मुगुमा फेरि बस दुर्घटना,मृतकको संख्या २४ पुग्यो, अधिकांश विद्यार्थी
२०७८ असोज २६ गते मङ्गलबार ०४:४८

 मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ। सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा...

 मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा रहेका रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीले अहिले सम्म २४ जनाको शव घटनास्थलमा भेटिएको जानकारी दिए।

केहीकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सुनिए पनि एकिन नभएकाे उनले बताए। साहानीका अनुसार मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन्। मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए।

‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी छन्’ साहानीले भने, ‘दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन्।’ उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको उनले बताए।

‘ज्यान गुमाउने सबै स्थानीय छन्, आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेको छ’ साहानीले भने, ‘आफन्तहरूको भीडले गर्दा सनाखत गर्नै मुस्किल छ।’

साहानीका अनुसार बस करिब पाँच सय मिटर तल खोलामा खसेको छ। बस टुक्राटुक्रा भएको छ। प्रहरी निरीक्षक जीवन लामिछाने घाइते १४ जनालाई समिट एअरको जहाजमा र नेपाली सेनाको हेलिकप्टरमा राखेर ताल्चा विमानस्थलबाट नेपालगञ्ज पठाइएको जानकारी दिए।

उनका अनुसार एक जना बालिकाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। बालिकालाई आफन्तले मोटरसाइकलमै राखेर बालिकालाई जिल्ला अस्पताल पुर्‍याएका थिए। बसमा ३९ जना सवार रहेको बुझिएको छ।

प्रकाशित मिति २०७८ असोज २६ गते मङ्गलबार ०४:४८
प्रतिक्रिया दिनुहोस्