बागलुङ सदरमुकाममा एक व्यवसायीले सरकारलाई चुनौति दिदै नगरपालिकाको स्वीकृत बिपरीत ६ तले घर बनाएका छन् । सोही घरभित्रै पेट्रोल पम्प र होटेलसमेत चलाएका छन् ।
जैमिनी नगरपालिका–१ का स्थायी घर भएका व्यवसायी हरिबाबु सापकोटालाई बागलुङ नगरपालिकाले पटक–पटक पत्र लेख्दै मापदण्ड अनुसारको घर बनाउन आग्रह गर्दा उनले त्यसको बेवास्ता गरे । सापकोटाले बागलुङ नगरपालिका–२ मा मापदण्ड विपरितको घर बनाएका छन् ।
उनले नगरबाट भवनको नक्सा पासनै नगराई घर बनाएका छन् । त्यतिमात्र होइन, उनले अनुमति नल्याई त्यही घरको ग्राउण्डमा पेट्रोल पम्प र माथिल्ला तल्लामा होटेलसमेत संचालन गरेका छन् ।
पेट्रोल पम्प जस्तो संवेदनशील व्यवसाय संचालन गर्दा सुरक्षा मापदण्डको समेत ख्याल नगर्दा जुनकुनै वेलो ठुलो दुर्घटना हुने भएकाले राज्यले तत्काल वन्द गर्न आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
आम उपभोक्ताको सुरक्षालाई नै चुनौति दिँदै पम्प सञ्चालन भईरहँदा बजारभित्रै रहेका स्थानीय सरकार, प्रहरी, प्रशासन मौन रहनु आफैमा लज्जास्पद रहेको अधिवक्ता बद्रीप्रसाद शर्माले बताए ।
त्यसरी घर निर्माण गर्नु स्थानीय सरकार संञ्चालन ऐन २०७४, भवन निर्माण आचारसँहिता २०७२को बर्खिलापमा हुने भन्दै मापदण्ड विपरितका संरचना हटाउन नगरले पटक पटक पत्राचार गरेको जनाएको छ ।
२०७६ माघ १९ गते लेखिएको पत्रमा पत्र प्राप्त भएको मितिले एक हप्ता भित्र पेट्रोल स्ट्याण्ड हटाउन अनुरोध गरिएको थियो । त्यसपछि पनि पुनः पत्रचार गर्दै पत्र प्राप्त भएको मितिले ३ दिन भित्र मापदण्ड विपरितको संरचना हटाउन अनुरोध गरियो । तर ति अनुरोधको अहिलेसम्म टेरपुच्छर लागेको छैन ।
बागलुङ नगरपालिकाबाट भवन निर्माणको प्रथम चरण अस्थाई ईजाजत पत्रमा आवासीय र व्यवसायीक भनिए पनि दोस्रो चरण अनुमति नलिइ अस्थाई ईजाजत पत्रको भरमा नियम पूरा नै नगरि पेट्रोल पम्प राख्नको र यसको नियमक निकाय आयल निगम रहेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।
सापकोटा मात्रै हैन बागलुङ नगरपालिका भित्र मापदण्ड विपरित घर बनाउनेहरु अन्य पनि छन् । स्थानीय तह गठनपछि पनि मापदण्डलाई कुल्चिदै घर निर्माण भइरहेका छन् । स्थानीय तह गठन हुनुभन्दा पहिलाका मापदण्ड विपरितका करिब १२० घरलाई नगरले नीति बनाएर जरिवाना तिराउँदै पास गराएको थियो ।










