गतवर्ष बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गराएको थियो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने विधि कृषि प्राविधिकहरुले सिकाए । कृषि चुन नगरपालिकाले निःशुल्क बाँड्यो । नगरले निःशुल्क रुपमा गरेको परीक्षणमा कृषि शाखाले तोकेरै मगाएका बाहेक किसान आफैले नमूना शिविरमा ल्याएका थिएनन् ।
नगरले कृषि उत्पादन बृद्धि गर्ने योजना अघि सारेको छ । सोही योजना अनुसार माटोको अवस्था थाहा पाउन शिविर गरिएको कृषि शाखाले जनाएको छ । माटोको अवस्था जानकारी भएपछि कृषिका योजना, किसानलाई सल्लाह पनि सोही अनुसार दिइने गरेको कृषि प्राविधिक रविन्द्र शर्माले बताउनुभयो । यही अवस्था जिल्लाको ढोरपाटन नगरपालिकामा पनि छ । नगरले पोखराबाट प्राविधिकको समुह बोलाएर माटो परीक्षण गराएको थियो । जिल्लाभर रहेका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले मात्रै गतवर्ष माटोको परीक्षण गराए ।
बाँकी स्थानीय तहमा न सरोकारवाला माटोको उत्पादकत्व जाँचका लागि परीक्षणमा चासो राख्छन् न किसान नै । दुई नगरमा भएको परीक्षणबाट जिल्लाभर रहेको खेतीयोग्य जमिनको २ प्रतिशत मात्रै जमिनको उत्पादकत्व जाँच भएको छ । बागलुङमा कुल क्षेत्रफलको २५ प्रतिशत अर्थात् ४६ हजार १ सय ४८ हेक्टर जमिन खेतीयोग्य मानिएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङकी प्राविधिक सहायक जमुना भण्डारीका अनुसार पहाडी जिल्लाको अधिकांश भूगोल अम्लिय माटो पाईन्छ । परीक्षण पछि मात्रै माटोको उत्पादकत्व थाहा लाग्ने भएपनि किसानले माटो परीक्षणमा ध्यान दिँदैनन् । माटोको उत्पादकत्व मापन गर्ने पिएच बिधि अनुसार ६ पिएच भन्दा कम क्षमतालाई अम्लीय र ८ पिएचभन्दा बढीलाई क्षारीय माटो भनिन्छ ।
‘अम्लीयपन हामीले लगाएको बाली र त्यहाँ प्रयोग हुने रसायनका कारण बढ्ने गरेको छ’, भण्डारीले भन्नुभयो ‘बाउबाजेले हालेको मल खेतबारीमा सकियो, अहिले आधुनिक मलमा हामीले बढी विश्वास गर्छाैं ।’ माटोको अवस्था सामान्य राख्न र उत्पादन बढाउन कृषि प्राबिधिकले सल्लाह दिन्छन् । प्राङ्गारिक मल माटोको सन्तुलन कायम राख्न महत्वपूर्ण तत्व भएको भण्डारीको भनाइ छ । अम्लियपन भएको जमिनमा उत्पादकत्व कम हुन्छ । उत्पादनमा कमी आउँदा आत्तिएका किसान माटोको परीक्षणका विषयमा भने चासो राख्दैनन् ।
संघीयता कार्यान्वयनमा आउनुपूर्व जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण गर्ने भएपनि अहिले जिल्लामा त्यो संरचना नहुँदा किसानलाई थप समस्या छ । पोखरामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला वा माटो परीक्षण किटबाट मात्रै परिक्षण सम्भव रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
स्थानीय तहमा रहेका कृषि शाखाको कम चासो र किसानको बेवास्ता पनि माटो परीक्षण नहुनुका कारणहरु हुन् । ‘माटो परीक्षण गरेको उत्पादन क्षमताका आधारमा बाली लगाउँदा उत्पादन लिन सहज हुन्थ्यो’, ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराई भन्नुभयो ‘अम्लिय र क्षारीय गुण भएको माटो नसहने बाली लगाएर उत्पादन लिन सकिँदैन् ।’
गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा डिजिटल माटो परीक्षण प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गरेको छ । तर हालको कृषि ज्ञान केन्द्रले प्रयोगशाला स्थापनाका लागि भवन अभाव व्यहोरीरहेको छ । ‘कुरा नगरपालिकामा नै गएर जोडिन्छ, नगरपालिकाले साविक कृषि विकास कार्यालयको भवन कब्जा गर्दा ल्याव राख्ने भवनको खाँचो भयो’, उहाँले भन्नुभयो ‘पहिले ल्याव रहेको कोठा मात्रै दिनुस भनेका छौं, त्यँहि पुराना सामग्री छन्, नयाँ मेसिन पनि अट्छ ।’
स्थानीय तहमा कृषिको अधिकार सबै हस्तान्तरण भएपछि माटो परीक्षण, प्राङ्गारिक उत्पादन लगायतमा कम चासो हुने गरेको अनुभव कृषि प्राबिधिकसँग छ । माटो परीक्षणका लागि प्रदेशको प्रयोशाला पु¥याउँदा पनि नमुना संकलनको समयमा सही तरिका नअपनाउँदा गलत नतिजा आउने गरेको अनुभव ज्ञान केन्द्रसँग छ ।










