नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।
नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटन अघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्याली निस्किएको थियो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नुहुनेछ । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने टुङ्गो लागेको छ ।
महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित भएका छन् ।
भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएको पनि एमाले विदेश विभागले जानकारी गराएको हो ।
विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची समेत रहेको छ ।










