ढोरपाटन २ खल्वाङका क्षेत्री अदुवा खेतीबाट मासिक पचास हजार आम्दानी गदैँ

ढोरपाटन २ खल्वाङका क्षेत्री अदुवा खेतीबाट मासिक पचास हजार आम्दानी गदैँ

छविलाल पाण्डे

@समय नेपाल

२०७८ माघ २ गते आईतबार १०:५४

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्बाङका अमरबहादुर क्षेत्रीले पाखोबारीमा अदुवा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । करिब एक दशकसम्म वैदेशिक रोजगारीमा समय विताउनुभएका क्षेत्रीले पछिल्लो वर्षहरुमा भने...

राज्यले वास्तविक किसानलाई उपेक्षा गरेको क्षेत्रीको भनाई

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्बाङका अमरबहादुर क्षेत्रीले पाखोबारीमा अदुवा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । करिब एक दशकसम्म वैदेशिक रोजगारीमा समय विताउनुभएका क्षेत्रीले पछिल्लो वर्षहरुमा भने आफ्नै गाउँ ठाउँमा अदुवा खेति गदैँ आउनुभएको हो ।

पश्चिम बागलुङमा पछिल्लो समय कृषि पशुपालन तर्फ आकर्षण बढ्दै जाँदा क्षेत्रीले समेत अन्य किसानले भन्दा फरक तरिकाले व्यवसायिक अदुवा उत्पादन र बजारीकरणमा लाग्नुभएको छ । उहाँले ४ वर्ष दुबई, २ बर्ष कुवेत, साउदी र १ वर्ष भारतमा विताए पछि अहिले आफ्नै गाउँ ठाउँमा केहि गर्ने सोचका साथ अगाडी बढिरहेको बताउनुहुन्छ । बजारमा अदुवाको माग बढि रहेको थाहा पाएँ पछि उहाँले ८ रोपनी पाखोबारीमा व्यावसायीक रुपमै लगाउन थाल्नुभएको थियो ।

स्थानीय बजारको मागलाई धान्ने गरी ४० कुईन्टलसम्म अदुवा उत्पादन गरेका क्षेत्रीले बताउनुभयो । अदुवाको बजार माग बाह्रै महिना हुने र लगानी खेर नजाने भएपछि आफु चार वर्षयता अदुवा खेतिमा लागिपरेको उहाँको भनाई छ । गत वर्ष १० कुइन्टल अदुवाको बिउ लगाउनुभएका उहाँले लगानीको करिब चार गुणा बढि उत्पादन गरेको बताउनुहुन्छ । उहाँले करिब ४० कुईन्टल बढि अदुवा उत्पादन गर्न सकिने बताउनुभयो ।

‘पहिले–पहिले यहाँका बारीहरुमा मकै कोदो बाहेक अन्य उत्पादन हुँदैन्थ्यो, अहिले अदुवा लगाएको निकै राम्रो उत्पादन भयो’ क्षेत्रीले भन्नुभयो । विदेशमा जाँदा गर्ने लगानी र परिश्रम स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिने भन्दै गाउँमै कृषि र पशुपालनमा लागेको बताउनुभयो । क्षेत्रीले अदुवासँगै उन्नत जातका बाख्रा र दुध उत्पादनका लागि गाईभैँसी समेत पाल्नुभएको छ । क्षेत्रीलाई श्रीमती पवित्राको राम्रो साथ छ । आफुले गाउँमा बसेर उत्पादन गर्ने श्रीमती पवित्राले दैनिक दुध, तरकारी, फलफुल नजिकै रहेको बुर्तिबाङ बजारमा बेच्ने गर्नुहुन्छ ।

‘विदेशमा महिना भरि काम गर्दा ३०-३५ हजार कमाई हुन्थ्यो, अहिले गाउँमै कम्तीमा पचास हजार आम्दानी हुन्छ अब किन विदेश जानुप¥यो ?’ उहाँले भन्नुभयो । पवित्रा कृषि तथा पशुपंक्षी नामक फार्म खोल्नुभएका क्षेत्रीले दैनिक २० लिटरसम्म दुध बजारमा विक्रीका लागि पठाउनुहुन्छ । अदुवा किन्नको लागि व्यवसायी तथा अन्य कृषकहरु घरमै पुग्ने गरेको बताउदैँ उहाँले निरन्तर मेहेनत गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

हालसम्म कृषि ज्ञान केन्द्र बागलुङले करिब डेड लाख बराबरको अनुदान दिएको छ । अन्य निकायबाट सहयोग नपाएका क्षेत्रीले कृषकलाई व्यवसायिक रुपमा अगाडी बढ्न राज्यको नजर पुग्नु पर्ने बताउँनुभयो । राज्यले वास्तविक किसानलाई उपेक्षा गरेको र कागजी किसानहरुले मात्र अनुदान पाउने गरेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति २०७८ माघ २ गते आईतबार १०:५४
प्रतिक्रिया दिनुहोस्