प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।
नेपालको कानूनले कुनै व्यक्तिलाई पक्राउ परेको २४ घण्टाभित्र अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनु पर्ने अनिवार्यता तोकेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ परेका प्रसाईलाई बुधबार मात्र अदालतमा पेश गरिने भएको छ।
प्रसाइको मेडिकल गराए पश्चात उनीविरुद्ध कुनकुन कसुरमा अनुसन्धान गर्ने भन्नेमा स्पष्टता नभए पछि उनलाई आज अदालतमा पेश नगरिएको समाचार स्रोतहरुको दाबी छ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।
कतिपय सरकारी अधिकारीहरुले बैंकिङ कसुरको मामलामा प्रसाईंविरुद्ध अनुसन्धान गर्नुपर्ने राय राखेका थिए । स्रोतका अनुसार, त्यही छलफलका बीच कार्यालय समय घर्किँदा प्रहरीले प्रसाईंलाई मंगलबार अदालत उपस्थित गराएन ।
सीआईबीका एसपी बोगटीले भने अदालत ४ बजे बन्द हुने र डकुमेन्टेसनका कामहरु नसकिएकाले मंगलबार म्याद थप नगरिएको बताए । उनले भने, ‘अहिललाई विद्युतीय अपराध नियन्त्रण ऐनविरुद्धको कसुरमा अनुसन्धान थालेका छौं, प्रमाणहरु देखे अनुसार अरु कसुरमा पनि अनुसन्धान हुन्छ ।’
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।
उनका अनुसार, प्रसाईंमाथि थप अनुसन्धान सीआईबी अन्तरगतको साइबर ब्यूरोबाट अघि बढ्छ । अन्य कसुरमा अनुसन्धानका लागि सीआईबीले ब्यूरोलाई सहयोग गर्नेछ ।
प्रहरीले प्रसाईंको घरबाट उनले चलाउने तीन वटा ल्यापटप र ९ वटा मोबाइल पनि बरामद गरेको छ । तिनलाई पनि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा लगेर जाँच गराउने तयारी छ ।










