सन् २०२५ देखि विन्डोज १० बन्द हुने

सन् २०२५ देखि विन्डोज १० बन्द हुने
२०७८ असार २ गते बुधबार ०८:४४

माइक्रोसफ्टको सबैभन्दा पछिल्लो तथा लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० आगामी सन् २०२५ देखि बन्द हुने भएको छ । यही महिनाको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको माइक्रोसफ्टले सन् २०२५...

माइक्रोसफ्टको सबैभन्दा पछिल्लो तथा लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० आगामी सन् २०२५ देखि बन्द हुने भएको छ ।

यही महिनाको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गरिने जानकारी गराएको हो ।

विन्डोज १० लञ्च गर्ने बेला नै माइक्रोसफ्टले त्यो नै विन्डोजको अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने बताएको थियो ।

तर सन् २०२५ को अक्टोबर १४ देखि विन्डोज १० को होम तथा प्रो भर्सनमा नयाँ अपडेट र सेक्योरिटी फिक्सेसहरु उपलब्ध नगराइने माइक्रोसफ्टले जनाएको छ ।

साथै विन्डोजलाई प्रतिस्थापन गर्नेगरी आगामी दिनमा सार्वजनिक हुने अपरेटिङ सिस्टम पछिल्ला दशककै सबैभन्दा उल्लेख्य अपडेटको रुपमा रहने माइक्रोसफ्टले दाबी गरेको छ ।

स्मरण रहोस् विन्डोज १० भन्दा अगाडिको विन्डोज ७ लाई माइक्रोसफ्टले आम प्रयोगका लागि सन् २०२० मै अन्त्य गरिसकेको छ । यद्यपि विन्डोज ७ प्रोफेसनल र विन्डोज ७ इन्टरप्राइज संस्करणका प्रयोगकर्ताले भने सशुल्क अपडेट प्राप्त गरिरहेका छन्।

Windows as a service भन्ने नाराका साथ सन् २०१५ को जुलाईमा विन्डोज १० रिलिज भएको थियो । त्यसबेला माइक्रोसफ्टले वर्षेनी नयाँ नयाँ विन्डोज संस्करण ल्याउनुको साटो निरन्तर नि:शुल्क रुपमा विन्डोज १० मै अपडेट उपलब्ध गराउने जनाएको थियो । माइक्रोसफ्टका सिइओ सत्य नादेल्लाले विन्डोज १० ले पर्सनल कम्प्युटिङको क्षेत्रमा नयाँ यूगको सुरुवात गरेको दाबी गरेका थिए ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०८:४४
प्रतिक्रिया दिनुहोस्