पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो

पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो
२०८१ मङ्सिर २३ गते आईतबार ०८:५८

पोखरा २३ मंसिर । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा भक्तजनको ओइरो लागेको छ । कोटिहोमको छैटौँ दिन मानव धर्म सेवा समिति गण्डकी प्रदेश प्रभारी...

पोखरा २३ मंसिर । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा भक्तजनको ओइरो लागेको छ । कोटिहोमको छैटौँ दिन मानव धर्म सेवा समिति गण्डकी प्रदेश प्रभारी माहात्मा पितम्परा बाइजि ज्यु को प्रमुख आतिथ्यता, भागवत वाचक गुल्मिबाट पाल्नुभएका रामानन्दिय सेवा पिठ का पिठाधिश स्वामी अर्जुन कृष्ण दास ज्यु लगायत बिशिस्ट ब्यक्तित्वज्युहरुको गरिमामय उपस्थिति साथै स्थानीय आमा समूहको उपस्थिति रहेको थियो भने रुपन्देही र स्याङ्जाबाट समेत भक्तजन आएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।

यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले भक्तजनको आगमनले उत्साहित बनाएको बताए । भक्तजनको आगमनले धाम निर्माणको परिकल्पना पुरा भएको छ, ऐतिहासिक धार्मिक क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउने सपना पुरा हुदैँछ’ उनले भने ।

यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।

शनिबार सोही स्थानमा निर्माण सम्पन्न भएको शिवालय मन्दिरको उद्याटन, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस भएको थियो । यस्तै शुक्रबार महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको शिलान्यास गरिएको थियो । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।

मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।

प्रकाशित मिति २०८१ मङ्सिर २३ गते आईतबार ०८:५८
प्रतिक्रिया दिनुहोस्