यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि बाजुरासम्म बाढी-पहिरो आएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्याएको छ। बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।


‘कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो’, लामाले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन्।
बाढीले भत्काउन लागेका घरका सामान निकाल्न आफूहरू लागिपरेको उनले बताए।



केन्द्रका प्रमुख तामाङका अनुसार अहिले पर्वत-बाग्लुङ, बेशीसहर-मनाङ, बुटवल-तानसेन, गोरुसिंङे-सन्धिखर्क सडक खण्डमा पहिरो खसेको छ। त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ।
पूर्व-पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको प्रमुख तामाङले जानकारी दिए।
बाढी-पहिरोको बितन्डाले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ।
‘अहिले हामी मनाङ र मेलम्चीमा गैरखाद्यान्न सामग्रीहरू पठाउँदै छौं,’ प्रमुख तामाङले भने।
मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान पठाउन लागिएको उनले जानकारी दिए।

यसैबीच मौसमविद्हरूले अझै १/२ दिन बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेतता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा आज-भोलि धेरै भारी वर्षा हुने सम्भावना छ।

पछिल्लो २४ घन्टामा देशभरि सबैभन्दा धेरै पानी पोखरामा ११० मिलिमिटर परेको छ भने भैरहवामा ८२, धनगढीमा ५२, घोराहीमा ५० मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।










