अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्युु भएको छ भने परिवारका अन्य तीन जना बिरामी भएका छन्। कमलबजार नगरपालिका ३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए। मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।
डिएसपी भण्डारीकाअनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीया नातिनी सीता बिक र नाती नौ वर्षीय विकास बिक पनि बिरामी भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।
मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन्। घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ।










