जापान जाने तयारीमा रहेकी एक युवतीको काठमाण्डौमा हत्या भएको छ। काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिकाकी २२ वर्षीया सुस्मिता खड्काको हत्या भएको हो।
प्रहरीका अनुसार , उनी आज बिहान काठमाण्डौको गौशालास्थित बागमती गेस्ट हाउसमा मृत भेटिएकी थिइन्। उनीसंगै गेस्ट हाउसमा बसेका युवा ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएको प्रहरीले बताएको छ। उनको पहिचान भइसकेको र खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले संकलन गरेको विवरणअनुसार, ती युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए। उनी बिहीबार नै जापान फर्किने तयारीमा थिए। उनीहरू नयाँ वर्षको अघिल्लो दिन गेस्ट हाउसको कोठा नम्बर ३०८ मा बसेका थिए।
बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा फोडेर हेर्दा युवती मृत भेटिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ। आफन्तले प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएका छन्










