स्याङ्जा गएराति ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। स्याङ्गजाको कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको ट्रिपर आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा गएराति करिब ११ बजे सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेकाे हाे।
उक्त दुर्घटनामा परेर पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका -६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।










