पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकमा रहेको साईमन पार्टि प्यालेसमा चोरी गरेर भागेका एक जोडी बुटवलबाट पक्राउ परेका छन्।
रुपन्देहीको देवदह नगरपालिका वडा नं.१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.३ घर भएकी २९ वर्षीया पुजा श्रेष्ठ उक्त पार्टी प्यालेसमा चोरी गरेको आरोपमा बुटवलबाट पक्राउ परेका हुन्।
उनीहरुले गएको शुक्रबार राती एक बजे उक्त पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद १४ लाख ७४ हजार रुपियाँ चोरी गरेर भागेको प्रहरीले दाबी गरेको छ।
साईमन पार्टि प्यालेसमा चोरी भएको सुचना पाए पछि अनुसन्धान गर्दै जाँदा वडा प्रहरी कार्यालय बैदाम पोखराले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरस्थित एक होटलमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुको साथबाट भने १२ लाख ५२ हजार पाच सय ८० रुपियाँ नगद र तीन थान मोबाइल पनि बरामद भएको प्रहरीले बताएको छ।
अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।










