पूर्वमन्त्री अफताव आलमको रिटमा फिल्म ‘लाज शरणम्’को प्रचार रोक्न अन्तरिम आदेश

पूर्वमन्त्री अफताव आलमको रिटमा फिल्म ‘लाज शरणम्’को प्रचार रोक्न अन्तरिम आदेश
२०८१ फाल्गुण ७ गते बुधबार ०९:१४

प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल,...

प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि., जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ।

अदालतको आदेशसँगै चलचित्रको बुधबार (आज) सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ। साथै, महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘लाज शरणम’ को प्रदर्शन पनि अन्योलमा परेको छ। चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन छ।

यस फिल्ममा सीताराम र कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

प्रकाशित मिति २०८१ फाल्गुण ७ गते बुधबार ०९:१४
प्रतिक्रिया दिनुहोस्