कांग्रेस सहमतिबाट भागे लाखु लखेटाइ लखेट्छौंः जसपा साँसद आचार्य

कांग्रेस सहमतिबाट भागे लाखु लखेटाइ लखेट्छौंः जसपा साँसद आचार्य
२०७८ असार ७ गते सोमबार ०६:०५

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले गठबन्धनकोबीचमा उत्पन्न चरम समस्यामा अलिझनुभएको छ । मन्त्रिपरिषद विस्तारमा दलहरूबीच संख्यामा सहमति जुटेपनि मन्त्रालय भागभण्डामा अझै सहमति जुट्न सकेको छैन । सबै...

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले गठबन्धनकोबीचमा उत्पन्न चरम समस्यामा अलिझनुभएको छ । मन्त्रिपरिषद विस्तारमा दलहरूबीच संख्यामा सहमति जुटेपनि मन्त्रालय भागभण्डामा अझै सहमति जुट्न सकेको छैन । सबै दलले ठूला मन्त्रालय दाबी गरिरहँदा मुख्यमन्त्री समस्यामा रहनुभएको छ ।

दलहरूले अडान नछाड्दा दबाबमा परेका मुख्यमन्त्री थप दबाबमा परेको बताइएको छ । मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका हरिशरण आचार्यसँग ३ बुँदे लिखित सहमति गरेको खुलेको छ, जुन अहिले मुख्यमन्त्रीमाथि नै आत्मघाती सावित हुनेसँकेत देखिएको छ ।

दलहरूबीच मन्त्रालयको भागभण्डा, नियुक्तिका विषय नमिल्दा आइतबार ११ बजे डाकिएको बैठक ढिला गरी १२ बजेमात्र बसेको थियो । सो दिन जनता समाजवादीले कांग्रेससँग लिखित सम्झौता खोजेपछि दलहरूको बैठक बस्दा किचलो आएको प्रष्ट हुन्थ्यो । ४ गते विश्वासको मत लिनु अघिमात्र जनता समाजवादीले धेरै किचलो ल्याएपछि मुख्यमन्त्री पोखरेलले लिखित सम्झौता गर्नुपेको हो ।

३ बुँदे सहमतिमा अर्थ मन्त्रालयसहित २ मन्त्रालय समाजवादीले पाउनुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु पर्ने र दलीय मान्यता पाउन १० प्रतिशतको व्यवस्था हटाउनु पर्ने बुँदा छन् । विश्वासको मत नदिने डरले ४ असारमा मुख्यमन्त्री पोखरेलले गरेको सहमति अहिले उनकै लागि आत्मघाती सावित भएको छ । जनता समाजवादीका संसदीय दलका नेता तथा मन्त्री हरिशरण आचार्य आफ्नो दलले अर्थ मन्त्रालयमा दाबी नछाड्ने बताउँछन् । मुख्यमन्त्रीले सहमति गरिसकेको अवस्थामा आफूहरूलाई अर्थसहित २ मन्त्रालय नदिए सरकारविरुद्ध विद्रोह गर्ने आचार्यले खुलेयाम बोल्न थालेपनि गठबन्धनमा रहेका मुख्यमन्त्री उल्झनमा फस्नुभएको हो ।

अहिले कांग्रेस, माओवादीले प्राकृतिक न्यायको सिद्धान्तको बिगुल फुकेपनि समाजवादीलाई नै त्यो लागु हुने आचार्यले बताउनुभयो। ‘माओवादीले सभामुख र ४ मन्त्रालय, कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, अनि हामी चाहिँ अरुले छाडेको चोइटा समाउनुपर्ने ? आचार्यको प्रश्न छ ।

थ्रेसहोल्ड हटाउने सहितका तीनवटै बुँदाबाट कुनै एकमा सरकार नमाने पनि आफूहरू विद्रो थाल्ने र ‘लाखु लखेटाइ’ लखेट्ने आचार्य ले धम्कीपूर्ण संकेत गर्नुभएको छ । ‘हामी दल सानो होला तर हाम्रो साथ बिना उनीहरूको सरकार बन्दैन, सानो भनेर हेप्न मिल्दैन,’ आचार्यले ‘सहमतिबाट भाग्न खोजे लाखु लखेटाइ लखेट्ने बताउनुभयो ।

कांग्रेसले ठूला नियुक्ति आफैँसँग राख्न लागेकाले पनि आफूले अर्थमन्त्रालयको दाबी नछाड्ने आचार्यको भनाई छ । ‘नीति योजना आयोगमा आफ्नै मान्छेलाई ल्याएर शपथ गराइसकियो, अब हामीले किन दाबी छाड्ने, हामी व्याक हुने कुरा आउँदैन,’ आचार्यले भन्नुभयो ।

सांसद धनमाया लामा पोखरेल माओवादीमा राजनीतिक नैतिकताको कमी देखिएको आरोप लगाउनुभएको छ । आफूले रोजेको मन्त्रालय नपाए सरकारमै जान्नँ भन्नु अनुचित रहेको र गठबन्धनको सहमतिविपरित रहेको उहाँको भनाई छ । माओवादीले तत्कालिन नेकपामा पनि विद्रोह मच्चाएको र अहिले गठबन्धनमा पनि समस्या ल्याउने माओवादी रहेको लामाको भनाई छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा अहिले आफूहरूको गठबन्धनको भावना विपरित गएर अनावश्यक किचलो ल्याइएको बताउनुहुन्छ। आफूहरूले सत्ताप्राप्तिका लागि मात्र आन्दोलन नगरेको र रोजाइका मन्त्रालय नपाए सरकारलाई साथ दिन्नँ भन्नु केटाकेटी पारा रहेको थापाको भनाई छ । ‘हाम्रो मिसन के हो ? केका लागि लड्यौं भन्ने भुलेर केटाकेटी तरिकाले यो चाहियो त्यो चाहियो भनेर बस्न मिल्दैन,’ थापाको भनाई छ । सरकार ढलाउने र बनाउने खेलमारहेका गठबन्धन राजनैतिक पार्टिहरुको अघिपछि गर्दा राष्ट्रिय जनमोर्चालाई एक साँसद गुमाउनु परेको छ । निकै पेचिलो र आलोचित राजनीतिमा फसेको जनमोर्चा जो गठबन्धनमा छ, त्यहाँपनि किचलो देखिएपछि राजनैतिक आत्मरति लिने थातथलो नभेटिने आलोचकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार ०६:०५
प्रतिक्रिया दिनुहोस्