पोखरा, साउन १८/ पोखरा २५ हेमजामा रहेको तिब्रेकोट सामुदायिक बन उपभोक्ताले छलफल तथा अन्र्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सोमबार उपभोक्ता समुहले वार्षिक प्रगति समीक्षा तथा भावी रणनीतिक योजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहको आयोजना र डिभिजन वन कार्यलय कास्की,सामुदायिक वन उपभोक्त महासंघ कास्की र सव–डिभिजन वन कार्यलय पोखराको सहयोग तथा समन्वयमा भएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यलय कास्कीका प्रमुख कोमलराज काफ्लेले तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूह कास्की जिल्लामा एउटा नमुना वन समूह भएको बताए । उनले सामुदायिक वनले रकम सहयोग गर्दा स्थानिय विपन्न बर्गमा सहयोग गर्न आग्रह गरे। यस्तै उनले डिभिजन वन कार्यलय कास्कीको बिषेश चासो र सक्रियताले वन समुह नमुना बन्न पुगेको उल्लेख गरे । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सामुदायिक वन केवल हरियाली संरक्षणमा मात्र सीमित नरही स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय समृद्धिसँग जोडिनुपर्ने धारणा राखे। वनमा आधारित उद्यम, जैविक विविधताको संरक्षण, वनजन्य उत्पादनको मूल्य अभिवृद्धि तथा वन डढेलो नियन्त्रणमा उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।सव डिभिजन वन कार्यलय पोखराकि बन अधिकृत प्रतिक्षा पनेरुले तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूह सगँ सहकार्य गरेर जान तयार रहेको बताइन् ।
तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष विशालजङ कुँवरले वन संरक्षण कसरी गर्ने भन्ने मुख्य उद्धेश्य रहेको बताउदै वनको झाडि सफा गरेर जैविक मल कृषक समूह माझ पु¥याउने उद्धेश्य रहेको बताए । कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन, भावी रणनीतिक योजनाको बारेमा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर कुँवर क्षेत्रीले प्रस्तुत गरेका थिए । २०५९ सालमा स्थापना भएको वन उपभोक्त समूहमा हाल २ सय ५७ जना आबद्ध रहेका छन् ।

















