पोखरा बैशाख २७/ गण्डकी प्रदेश सरकार अन्तरगतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा दिने अभियान सुरुवात गरेको छ । कार्यालयले शुक्रबार पुतलीबजार नगरपालिका र मनकामना मा वि सँगको समन्वय र साझेदारीमा पुतलीबजार नगरपालिका वडा न १२ स्थित पेल्काचौरमा रहेको मनकामना माध्यमिक विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास सँगै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप बजबुत बनाई सिकाइ उपलब्धि सुधार गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबलिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान,सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा बालबालिकाको स्वास्थ्य पोषण र सरसफाई सम्बन्धमा स्वास्थ्य अधिकृत ईश्वर थापाले बालबालिकाका अधिकार र बाल कानून सम्बन्धमा प्रशिक्षक तथा सरस्वती मा वि का प्रधानाध्यापक कृष्ण गोदार , बिद्यार्थी, शिक्षक र अभिभावक सम्बन्धबारे शिक्षा शाखा कर्मचारी शोभा बस्याल न्यौपानेले र योग ध्यान सम्बन्धमा प्रशिक्षक राधा अर्याल पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष गंजसिंह गुरुङ लगायतल्र शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मनकामना मा वि का शिक्षक अभिभावक संघका अध्यक्ष आइबहादूर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सामाजिक विकास कार्यालयले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहजबाट जिउन मद्धत पुग्ने विश्वास राखेको छ । कार्यालयले अभिभावहरुलाई विभिन्न विधाहरु सकारात्मक सोच तथा व्यक्तित्व विकास बारे अधिकृत स्तरका कर्मचारी तथा मनोविज्ञबाट , बालबालिकाको स्वास्थ्य पोषण र सरसफाईबारे स्थानिय तहका जनस्वास्थ्य अधिकृत र बालरोग विशेषज्ञबाट , बालअधिकार र बालबालिका कानून सम्बन्धी शिक्षा अधिकृत तथा बालमनोविज्ञबाट , अभिभावक, शिक्षक र विद्यार्थी अन्तरसम्बन्धबारे विभिन्न शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिहरुबाट तथा योग तथा ध्यान सम्बन्धी जीवन विज्ञानका प्रशिक्षकहरुबाट विभिन्न सेसनहरुमा सैद्धान्तिक र व्यवहारिक ढंगबाट प्रशिक्षण गरिने बताएको छ । कार्यालयले पहिलो पटक सञ्चालन गर्न लागेको कार्यक्रममा जिल्लाका स्थानिय तह र विद्यालयहरुको समन्वय र साझेदारीमा यस आर्थिक वर्षमा जिल्लाका विभिन्न ३० वटा भन्दा बढी केन्द्रमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।










