पुतलीबजार विज्ञ समितीको संयोजकमा लम्साल

पुतलीबजार विज्ञ समितीको संयोजकमा लम्साल
२०८२ जेठ २६ गते आईतबार ०८:४७

स्याङ्जा जेठ २५/  पुतलीबजार नगरपालिकाले भरत लम्सालको संयोजकत्वमा ५ सदस्यीय विज्ञ समिती गठन गरेको छ । समितीको सदस्यहरुमा विभिन्न क्षेत्रमा सक्रिय ध्रुवबन्धु पौडेल, मनोज मल्ल, बोधराज अर्याल र भवानी अधिकारी रहेका छन । सामाजिक, शैक्षिक...

स्याङ्जा जेठ २५/  पुतलीबजार नगरपालिकाले भरत लम्सालको संयोजकत्वमा ५ सदस्यीय विज्ञ समिती गठन गरेको छ । समितीको सदस्यहरुमा विभिन्न क्षेत्रमा सक्रिय ध्रुवबन्धु पौडेल, मनोज मल्ल, बोधराज अर्याल र भवानी अधिकारी रहेका छन । सामाजिक, शैक्षिक र नितिगत क्षेत्रमा निकै सक्रिय रहदै आएका विज्ञ समितिका संयोजक लम्सालले स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, मुक्तिनाथ विकास बैंकका सञ्चालक, नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता, एम्नेष्टी इन्टरनेशनल स्याङ्जाका संयोजक, पूर्व केन्द्रिय सदस्य मानव अधिकार तथा शान्ति समाज, सल्लाहकार PABSON, HISSAN स्याङ्जाका निवर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष लगायत विभिन्न पद र ओहदामा रहेर जिम्मेवारी सम्हालिसकेका छन ।

नगरको जेठ १७ गते बसेको बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ को उपदफा (२) र (३) बमोजिम विज्ञ समिति गठन गरिएको पुतलीवजार नगरपालिकाले जनाएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सूचना प्रविधि, वन–वातावरण, महिला, दलित, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नीति निर्माणका लागि सुझाव, सल्लाह तथा राय दिने उद्देश्यले विज्ञ समितिको गठन गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए ।

समिति नगरपालिकाका नीति तथा कार्यक्रम र नगरको वृहत्तर विकासमा सहयोगी भूमिकामा रहनेछ । नगरप्रमुख तुलसीराम रेग्मीले नवनियुक्त संयोजक लम्साल सहित पाँचैजनालाई नियुक्त गर्दै समितिका सदस्यहरुको अनुभव र दूरदर्शीता संगै कार्यक्षमता अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले अनुभव, दक्षता र उत्तरदायित्वका आधारमा विज्ञ समितिलाई प्रभावकारी रूपमा सञ्चालन गरी स्थानीय तहको नीति निर्माणमा योगदान दिने अपेक्षा राखेको छ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आईतबार ०८:४७
प्रतिक्रिया दिनुहोस्