स्याङ्जा असार २/ पुतलीबजार नगरपालिकाको नवगठित विज्ञ समितिले आफ्नो कार्य र अभियानलाई तिव्र पारेको छ । समितिले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सम्बन्धित वडा र सरोकारवालासंग सुझाव संकलन कार्यलाई तिव्र पारेको हो ।
सो अभियान अन्तर्गत समितिले पुतलीबजारका १४ वडा मध्ये ९ वडाबाट पहिलो चरणमा सुझाव संकलन गरिसकेको नगर विज्ञ समितिका संयोजक भरत प्रसाद लम्सालले जानकारी दिए । पहिलो चरणको सुझाव संकलन अभियान पुतलीबजारका ५, ६, ७, ८ र ९ वडा बाहेक अन्य वडाहरुमा सम्पन्न भएको र सो अभियान यहि असार ३ भित्र सकिसक्ने नेपाली काङ्ग्रेस पुतलीबजार ३ का सचिव मोति प्रसाद मरासिनीले जानकारी दिए ।
पुतलीबजार नगरपालिकाको जेठ १७ गते बसेको बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ को उपदफा ९२० र ९३० बमोजिम गत जेठ २५ गते विज्ञ समिति गठन गरिएको थियो ।
सो समितिले नगरको समग्र शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सूचना प्रविधि, वन–वातावरण, महिला, दलित, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नीति निर्माणका लागि सुझाव, सल्लाह तथा राय दिने विश्वास राखेको नगर प्रमुख तुलसिराम रेग्मीले बताए । समितिले नगरपालिकाका नीति तथा कार्यक्रम र नगरको वृहत्तर विकासमा सहयोगी भूमिकामा रहने गरि कार्य अघि बढाएको समितिका सदस्य सचिव मनोज मल्लले बताए ।
पुतलीबजार विज्ञ समितिमा संयोजक लम्साल सहित, ध्रुवबन्धु पौडेल, भवानी अधिकारी, बोधराज अर्याल र सदस्य सचिवमा मनोज मल्ल रहेका छन । उनिहरुले सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा अब्बल भुमिकामा रहेर सक्रियता पुर्वक जिम्मेवारी निभाइसकेका छन ।










