म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितका लागि बनाएको घर हस्तान्तरण सुरु गरेको छ । गत वर्ष बाढीपहिरोका कारण विस्थापित भएकाको घर निर्माण सकिएपछि मंगलबार बेनी नगरपालिकामा एक समारोहमा जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा सम्बन्धित पीडितहरूलाई हस्तान्तरण गरिएको हो ।
मोनाले बेनी नगरपालिका ४ घर निर्माणको जिम्मा लिएको थियो । ७७ असार महिनाको अन्तिम साता पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई विश्वभर रहेका म्याग्देलीलाई यो बर्खामा आफ्नै घरमा बस्ने गरी हस्तान्तरण गरिएको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो । उहाँले नयाँ वर्षको उपहारका रुपमा नयाँ दिने तयारी गरिए पनि कोरोनाका कारण समस्या भएको बताउँदै मोनाले लक्ष्य अनुसार नै घर निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो । मोनाले बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरूमध्ये जिल्लाभर ४० घरको जिम्मा लिएको थियो ।
जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको अध्यक्ष जुग्जालीको भनाई छ । घर हस्तान्तरण कार्यक्रममा विश्वभर रहेका म्याग्देलीको सहयोगबाट समयमै सम्पन्न गर्न सहज भएको बताइएको थियो ।
मोनाले बनाएको घरमा एक वटा भान्छा कोठा सहित तीन कोठा रहेको छ । भूकम्प प्रतिरोधी क्षमतामा ५ लाख खर्चिएको छ । धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ । स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाएको थियो ।
गतबर्ष म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको कार्यविधि–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुनर्बास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगदको सम्झौता भइ हाल निर्माणकार्य भइरहेको छ भने केहीको सम्झौता समेत हुन सकेको छैन ।










