पोखरा,भदौ २६/ शिक्षा र स्वास्थ्यका लागि ओलम्पिक मूल्य तथा सामुदायिक दौडसम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र नेसनल ओलम्पिक एकेडेमी नेपालको संयुक्त आयोजनामा शुक्रवार पोखरामा उक्त अन्तरक्रिया गरिएको हो ।
नेसनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले कार्यक्रममा प्रस्तु्तिकरण राख्दै ओलम्पिकका मूल्यमान्यता र अभियान तथा नेसनल एकेडेमीको बारे जानकारी गराए । गुरुङले ओलम्पिक शिक्षालाई विद्यालय तहसम्म पु¥याउन आवश्यक रहेको बताउँदै त्यसका लागि एकेडेमीले तयारी गरिरहेको र पाइलट प्रोजेक्टको रुपमा २५ बिद्यालयबाट काम शुरु गरिने जानकारी दिए। उनले खेलकुदमार्फत विद्यार्थीमा ओलम्पिकका ३ प्रमुख मुल्यहरु उत्कृष्टता, सम्मान र मित्रता मार्फत बिद्यार्थीहरुको ब्यक्तिगत एवम् समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, “ओलम्पिक भनेको खेलकुद प्रतियोगिता मात्रै होइन, यो अनुशासन, सम्मान, मित्रता र उत्कृष्टताको मूल्य सिकाउने माध्यम पनि हो। त्यसैले ओलम्पिक शिक्षालाई विद्यालय तहबाटै अघि बढाउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको ‘ओभेप’ कार्यक्रममा आधारित भई खेल शिक्षकमार्फत विद्यार्थीलाई खेलसँगै ओलम्पिकका मूल्यमान्यता सिकाउन सके यसले उनीहरूको व्यक्तित्व विकास र समाज रुपान्तरण्मा महत्वपूर्ण योगदान पु¥याउँछ”।नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले कार्यक्रमको अवधारणा माथि प्रष्ट पर्दै मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मासिक दौडलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । दौड संस्कृतिलाई विद्यालय तहसम्म पु¥याउने उद्देश्यले स्कुलहरूमा कार्यक्रम विस्तार गर्ने विषयमा छलफल भइरहेको उनको भनाई थियो। उनले अहिले सञ्चालन भइरहेको मासिक दौडमा आमा समूहको सहभागिताले सबैको ध्यान आकर्षित गर्न सफल भएको उल्लेख गरे ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले मञ्चको स्थापना, उद्देश्य र हालसम्म गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए ।कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकि नव नवनिर्वाचित अध्यक्ष शोभा गौतम संस्थापक मञ्चका अध्यक्ष खड्ग बहादुर रानाभाट,संस्थाका सचिव महेश पौडेल, एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङ,बिद्यालय खेलकुद महासंघका कास्कीका अध्यक्ष कृष्ण केसीले संस्था सगँ सहकार्य गदै अगाडि बढने बताए । सोहि अवसर पारेर संस्थाले पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिम र एन प्याब्सन कास्कीका नवनिर्वाचित अध्यक्ष मनकाजी गुरुङलाई बधाई ज्ञापन गरेको थियो ।











