पाँच ऐतिहासिक कोट जोड्दै पोखरामा ५० किमिको अल्ट्रा ट्रेल रेस आयोजना हुने

पाँच ऐतिहासिक कोट जोड्दै पोखरामा ५० किमिको अल्ट्रा ट्रेल रेस आयोजना हुने
२०८३ असोज २१ गते बुधबार ०५:२५

पोखरा,असोज २१/कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुने भएको छ।नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजनामा तथा विजयपुरस्थित...

पोखरा,असोज २१/कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुने भएको छ।नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजनामा तथा विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा आगामी आइतबार प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले साहसिक खेलसँगै पोखराको खेल पर्यटन, प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाको प्रवद्र्धनमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।
प्रतियोगिताका विषयमा मङ्गलबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा आयोजित समन्वयात्मक बैठकमा पृतनापति उपरथी भोलानाथ थापाले पहिलोपटक आयोजना हुन लागेको अल्ट्रा ट्रेल रेसले पोखराको खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष एवं प्रतियोगिताका रेस डाइरेक्टर तेज गुरुङका अनुसार शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई दौडको मार्गमा समेटिएको छ।उनका अनुसार ५० किमिको मुख्य दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु हुनेछ। धावकहरू सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पिपलडाली, ¥यालेचौर र काहुँकोट हुँदै पोखरा ११ स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर दौड पूरा गर्नेछन्।

लामो दूरीको दौडका लागि तयार नभएका धावकलाई लक्षित गरी १६ किमिको छुट्टै विधा पनि राखिएको छ। उक्त दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान र पहेँलो पुल हुँदै फूलबारी ब्यारेकमा पुगेर समाप्त हुनेछ।प्रतियोगितामा पुरुष र महिला दुवै विधामा समान पुरस्कारको व्यवस्था गरिएको छ। ५० किमि दौडको प्रथम हुने पुरुष तथा महिला धावकले जनही १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख, तेस्रोले ७५ हजार, चौथोले २५ हजार र पाँचौँ स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई पदक तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

त्यस्तै, १६ किमि दौडको प्रथम पुरस्कार २५ हजार, दोस्रो १५ हजार, तेस्रो १० हजार र चौथो ५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस विधामा पनि पुरुष र महिलातर्फ समान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।दौड पूरा गर्ने सबै सहभागीलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका धावकले मात्र सहभागिता जनाउन पाउनेछन्। नाम दर्ताको समय असोज २२ गते दिउँसो ४ बजेसम्म तोकिएको छ।

आयोजकका अनुसार हालसम्म केही विदेशी धावकसहित ५० भन्दा बढीले नाम दर्ता गराइसकेका छन्। नेपालका चर्चित अल्ट्रा धावकहरूको समेत सहभागिता रहने र प्रतियोगितामा करिब दुई सय धावक सहभागी हुने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए ।
दौडका क्रममा धावकले पोखराका ग्रामीण भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउने भएकाले प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्ने आयोजकको विश्वास छ।

प्रकाशित मिति २०८३ असोज २१ गते बुधबार ०५:२५
प्रतिक्रिया दिनुहोस्