निर्माण ढिलासुस्ती गर्ने ठेकेदारको पोस्टर झुण्ड्यार विरोध

निर्माण ढिलासुस्ती गर्ने ठेकेदारको पोस्टर झुण्ड्यार विरोध
२०७८ साउन ६ गते बुधबार ०३:५५

म्याग्दी - सडक निर्माणको काममा ढिला सुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारको फोटो भएको पोस्टर झुण्ड्याएर म्याग्दीका स्थानीयले विरोध गरेका छन्। बेनी–दरवाङ सडकअन्तर्गतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने लामा समानान्तर जेभी...

म्याग्दी – सडक निर्माणको काममा ढिला सुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारको फोटो भएको पोस्टर झुण्ड्याएर म्याग्दीका स्थानीयले विरोध गरेका छन्।

बेनी–दरवाङ सडकअन्तर्गतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेर विरोध गरिएको हो। लामाको कम्पनीले कामको गति दिन नसक्दा सास्ती भागेको, सडक फराकिलो बनाउने क्रममा पर्खाललगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको भन्दै ठेकेदारको फोटोसहित पोस्टर बनाएर विरोध गरेका हुन्।

२०७४ साल साउनमा बेनी सिमचोकसम्मको १२ किलोमिटर ५८५ मिटर सडकको ठेक्का लिएको लामा समान्तर जेभीले सम्झौता गरेको थियो। उक्त सम्झौता २०७६ माघ १२ सकिएको थियो। पटक–पटक थप गरिएको अवधिमा पनि काम नसकिएको र सडक फराकिलो बनाएका कारण पहिरोले घरसँगैको बस्ती र खेती योग्य जमिनमा क्षति पु¥याएको भन्दै स्थानीयले विरोध गरेका हुन्।

बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जोड्ने सडकलाई ११ मिटर चौडा बनाई कालोपत्रे गर्न ४५ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएको थियो। चार वर्षमा पनि ५० प्रतिशत मात्र काम भएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ। यस कम्पनी दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जिपछिरिङ लामाको हो। उनी नेपाली कांग्रेसका नेता हुन्।

प्रकाशित मिति २०७८ साउन ६ गते बुधबार ०३:५५
प्रतिक्रिया दिनुहोस्