बजेट अभावले धौलागिरी अस्पताल बाग्लुङको शिशु सघन उपचार कक्ष अलपत्र

बजेट अभावले धौलागिरी अस्पताल बाग्लुङको शिशु सघन उपचार कक्ष अलपत्र
२०७८ साउन १५ गते शुक्रबार ०७:४९

बजेट अभावका कारण धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशु सघन उपचार कक्ष अलपत्र परेको छ । जन्मे देखी चार हप्तासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको...

बजेट अभावका कारण धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशु सघन उपचार कक्ष अलपत्र परेको छ । जन्मे देखी चार हप्तासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि ६० लाख रुपैयाँ उपलव्ध गराएको थियो । ३ करोड रुपैयाँको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको हो । विनियोजित बजेटले एनआईसियुका लागि आवश्यक उपकरण लगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताउनुभयो ।

‘हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौं, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ’ पोखरेलले भन्नुभयो ‘छिमेकी जिल्लाका अस्पतालले ३ करोड पाउँदा धौलागिरीले ६० लाख मात्रै पाएको बिषयमा खोजी भैरहेको छ ।’
कुनै समय रिफर सेन्टरको रूपमा परिचित धौलागिरि अस्पताल बागलुङमा दुई वर्ष यता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालको रुपमा विकास गरिरहेको छ । एक वर्षअघि यो अस्पतालमा ३ शैयाको सघन उपचार कक्ष स्थापना भएको थियो ।

अस्पतालमा तत्काल एनआईसियु स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौ पोखरा धाइरहनु पर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले बताउनुभयो । ‘हामी काम गर्न तयार छौं र गरिरहेका छौं, सरकार आश्वासन दिन्छ बजेट दिँदैन’ रानाले थप्नुभयो ‘धौलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालको रुपमा विकास हुन्छ ।’

एनआईसियु बनेमा चार साता सम्मका बालबालिकाको सुरक्षित उपचार हुने धौलागिरि अस्पतालका बालरोग बिशेषज्ञ प्रकाश थापाले बताउनुभयो । अस्पतालले आपतकालिन प्रयोगका लागि भेण्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । एनआइसियू कक्षमा जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दुध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियूमा नै राखेर उपचार गर्नुपर्ने डा. पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ साउन १५ गते शुक्रबार ०७:४९
प्रतिक्रिया दिनुहोस्