
बजेट अभावका कारण धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशु सघन उपचार कक्ष अलपत्र परेको छ । जन्मे देखी चार हप्तासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि ६० लाख रुपैयाँ उपलव्ध गराएको थियो । ३ करोड रुपैयाँको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको हो । विनियोजित बजेटले एनआईसियुका लागि आवश्यक उपकरण लगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताउनुभयो ।
‘हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौं, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ’ पोखरेलले भन्नुभयो ‘छिमेकी जिल्लाका अस्पतालले ३ करोड पाउँदा धौलागिरीले ६० लाख मात्रै पाएको बिषयमा खोजी भैरहेको छ ।’
कुनै समय रिफर सेन्टरको रूपमा परिचित धौलागिरि अस्पताल बागलुङमा दुई वर्ष यता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालको रुपमा विकास गरिरहेको छ । एक वर्षअघि यो अस्पतालमा ३ शैयाको सघन उपचार कक्ष स्थापना भएको थियो ।
अस्पतालमा तत्काल एनआईसियु स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौ पोखरा धाइरहनु पर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले बताउनुभयो । ‘हामी काम गर्न तयार छौं र गरिरहेका छौं, सरकार आश्वासन दिन्छ बजेट दिँदैन’ रानाले थप्नुभयो ‘धौलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालको रुपमा विकास हुन्छ ।’
एनआईसियु बनेमा चार साता सम्मका बालबालिकाको सुरक्षित उपचार हुने धौलागिरि अस्पतालका बालरोग बिशेषज्ञ प्रकाश थापाले बताउनुभयो । अस्पतालले आपतकालिन प्रयोगका लागि भेण्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । एनआइसियू कक्षमा जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दुध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियूमा नै राखेर उपचार गर्नुपर्ने डा. पोखरेलले जानकारी दिनुभयो ।










