बागलुङ- बागलुङका अधिकाँस ठूला आयोजनाहरु ठेकेदार कम्पनीको लाहप्रवाहीले अलपत्र परेका छन् । समयमा काम नगर्ने ठेकादार र कम्पनीलाई साँसदले नै कार्वाहीको माग गरे तर कुनै प्रक्रिया अघि बढेको देखिएन ।
जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालको ‘सि’ ब्लक भवन निर्माण शुरु भएको ८ वर्ष वित्यो आठ वर्ष लामो अवधीमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले निर्वाचित भए पछिको गण्डकी प्रदेशको पहिलो बैठकमा अस्पताल निर्माणको जिम्मेवारी पाएको आशिष÷मिलिनियम र भीम ज्योती जेभीका प्रतिनिधि शितल ढकाललाई कारबाहीको माग गर्नुभयो । सांसद सापकोटाले कारबाहीको माग गरेको नै चार वर्ष पुग्यो । न काम भयो, न काम नगर्ने ठेकेदारलाई कार्वाही भएको छ ।
यता ट्रयाक खुलेको २५ वर्ष बित्दा समेत कालोपत्रे गर्न नसकेको मध्यपहाडी लोकमार्गका दुई निर्माण व्यवसायीले समेत म्याद थप गर्दै रकम बुझ्दै गरेका छन । पटक–पटक संघीय संसद र प्रदेश सभामा लोकमार्गका ठेकेदारलाई कालोसूचीमा राख्न सांसदहरुले माग उठाइरहे पनि कतै सुनुवाई भएको देखिदैन ।
बागलुङबाट निर्वाचित अधिकांश सांसदहरुको संसदमा बागलुङका ठूला योजना ठेकेदारले अलपत्र पारेको गुनासो सधै हुन्छ । तर, माथिल्लो तह र कर्मचारीबाट तीनै ठेकेदारलाई कारबाहीको सट्टा म्याद थप मात्रै गर्ने प्रवृत्ति मौलाउदा बागलुङको धौलागिरी अस्पताल भवन, मध्यपहाडी लोकमार्गको बागलुुङ बजार देखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक, र अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड, बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेमा ढिलाई हुँदै गएको छ ।
२०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे धौलागिरि अस्पताल भवन पटकरपटक म्याद थप्दा समेत सम्पन्न नहुँदा अस्पतालले गुणस्तरीय सेवा दिन असहज भएको छ । कोरोना महामारीका कारण अस्पतालमा बिरामीको चाप भए पनि ‘सि’ ब्लक भवन निर्माणमा हेलचेक्राई गरिएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।
यस्तै बागलुङ सदरमुकाम र पश्चिम बागलुङलाई जोडने मध्यपहाडि लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको वर्षाैं भयो । बागलुङको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले कामको ठेक्का संझौता गरेको देखिन्छ । अर्को बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते इसीसी जेभीले दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको छ । तर यति लामो समयसम्म त्यहाँको सडकको अवस्था जस्ताको तस्तै छ । पटक पटक म्याद थप्दै निर्माण कम्पनीले जनतालाई शास्ती दिइरहेको छ ।
लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले बागलुङ घोडाबाँधे सम्मको दुई निर्माण व्यवसायी संगको ठेक्का पुस मसान्त सम्म थप गरिने नयाँ कुरा ल्याउनुभएको छ । उहाँका अनुसार उनीहरुलाई कार्वाही गरेर नयाँ ठेक्कामा जादा आयोजना झनै लम्बिने भएकाले पुस मसान्त भित्र आयोजना सक्न निर्देशन गरिएको भनाई छ । आदर्श अनलाइन










