एमाले विभाजनपछि धौलागिरीका १८ सांसद मध्ये १ सांसद मात्रै एकीकृत समाजवादीमा

एमाले विभाजनपछि धौलागिरीका १८ सांसद मध्ये १ सांसद मात्रै एकीकृत समाजवादीमा
२०७८ भदौ १५ गते मङ्गलबार १०:०५

बागलुङ- एमाले विभाजन पछि धौलागिरीका १८ जना साँसद मध्ये १ जनामात्र एकीकृत समाजवादी पार्टिमा खुलेको देखिएको छ । एमालेको समानुपातिक तर्फबाट राष्ट्रिय सभा सदस्य बन्नुभएकी बागलुङ बडिगाड खर्वाङकी शान्ति अधिकारी आफु नेकपा एकीकृत समाजबाद...

बागलुङ- एमाले विभाजन पछि धौलागिरीका १८ जना साँसद मध्ये १ जनामात्र एकीकृत समाजवादी पार्टिमा खुलेको देखिएको छ ।
एमालेको समानुपातिक तर्फबाट राष्ट्रिय सभा सदस्य बन्नुभएकी बागलुङ बडिगाड खर्वाङकी शान्ति अधिकारी आफु नेकपा एकीकृत समाजबाद पार्टीमा प्रष्ट रुपमा लागेको बताउनुभएको छ । पार्टीको विधान र संविधान विपरित पार्टी अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेको आरोप लगाउँदै अधिकारीले एमाले छोडेको बताउनुभयो ।

अधिकारीलाई नयाँ पार्टीमा लाग्दा पैसाको प्रलोभनमा परेको समेत आरोप लागेको छ । यस विषयमा जानाकारी लिंदा साँसद अधिकारीले आफ्नो बद्नाम गर्न एमालेका नेताहरुले नै अफवाह फैलाएको बताउनुभयो । साँसद अधिकारीले आफू पैसाको पछाडि होइन, विचारका पछि लागेको हुँ, पार्टीको उद्देश्य देशमा समाजबाद ल्याउनु हो । आफू एक्लै भए पनि समाजबादी पार्टीमा लाग्ने बताउनुभयो ।

यस अघि माधव—झलनाथ समुहमा खुलेरै लागेका गण्डकी प्रदेश साँसद इन्द्रलाल सापकोटाले अब उक्त समूहबाट बनेको नयाँ पार्टीमा आफु नजाने बताउनुभएको छ । पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनमा आएकाले अब एमालेमै रहेर संघर्ष गर्ने सापकोटाले बताउनुभयो ।
मुलुकमा अहिलेको आवश्यकता एमाले बाहेक बामपन्थीहरुको पनि एकता रहेको हुनाले मुलुकको परिर्वतनका लागि वृहत्तर बामपन्थी एकताको पक्षमा आफू रहेको सापकोटाले बताउनु भयो ।

एमाले विभाजन पछि जनप्रतिनिधि को कता ?

लामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात विभाजित भएको नेकपा एमालेका सांसद, जनप्रतिनिधिले आगामी भदौ २२ गते सम्म दल रोज्न पाउनेछन् । तर, धौलागिरीका एकाध बाहेक सबैजसो सांसद र जनप्रतिनिधिले आफ्नो कित्ता प्रष्ट गरिसकेका छन् ।

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।नेता कार्यकर्ता बिचमा कित्ताकाट सुरु भएको छ ।

एमाले र विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी बिचमा जिल्ला तहमा को बलियो बन्ने होडबाजी सुरु भएको देखिन्छ । धौलागिरीका चार जिल्लामा एमालेका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुखको अबको राजनीतिक क्रियाशीलता सम्लग्नता हेर्दा एमाले विभाजन पछि पनि सबैजसो एमालेमै क्रियाशील रहने संकेत गरेका छन् । धौलागिरीमा एमालेबाट निर्वाचित २३ मध्ये सबै एमालेको पक्षमा देखिएका छन् । एक जना जनप्रतिनिधि मात्रै अझै खुलेका छैनन् ।

पर्वत जिल्ला फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा पार्टी अन्तर संघर्षमा माधव नेपाल समूहमा रहे पनि विभाजन पश्चात आफु अहिले सम्म कतै नखुलेको बताउनुहुन्छ । आफुले अहिले सम्म एमालेमै बस्ने कि नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भन्ने नखुलाए पनि अहिलेको आवश्यकता पार्टी फुटाउनु नभएको उहाँको भनाई छ । शर्माले जस्तोसुकै परिस्थितिमा पनि पार्टी एकता हुनुपर्ने भन्दै अहिलेको समय पार्टी विभाजन गर्नु गलत भएको बताउनुभयो । अब छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने उहाँको भनाई छ ।

बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले आफु एमालेमै रहेको बताउनु भयो । उहाँले राजनीतिमा अहिले सम्म टुक्रिएर गएकाको प्रगति नभएको भन्दै कम्युनिस्टमा ईमान्दारिता हुनुपर्ने बताउनुभयो । ढोरपाटनका सबै एमालेका नेता कार्यकर्ता एकतावद्ध भएर एमालेमै रहने नेपालीको दाबी छ ।

एमाले अन्तरविरोधमा माधव नेपाल समुहको पक्षमा देखिनुभएका पर्वत जिल्ला महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले पनि आफु एमालेमै रहेको बताउनु भयो । उहाँले अहिलेको सन्दर्भमा एमालेका विभाजन नभएको र केही मानिसहरु असन्तुष्ट भएर अर्को पार्टी निमार्ण गरेको बताउनुभयो । अहिले धौलागिरीको मात्र कुरा गर्दा पनि जनप्रतिनिधि र एमाले कार्यकर्ता सबै एक नै रहेको उहाँको भनाई थियो ।
हरेक पार्टीमा विभिन्न खालका समस्या हुने र अझ कम्युनिष्ट पार्टीमा भएका समस्यालाई कम्युनिष्टले अन्तर संघर्ष गरेर अगाडि बढ्नु पर्नेमा पौडेलको जोड छ ।
व्यक्ति व्यक्ति बिच त द्धन्द्ध हुन्छ भने पार्टी भित्र विवाद, संघर्ष र छलफल हुने कुरा स्वभाविक भए पनि अहिले माधव नेपालले नयाँ पार्टी खोल्नु व्यक्तिगत आंकाक्षा, कुण्ठा, पद प्रतिष्ठा संग मात्र जोडिएको पौडेलले बताउनु भयो ।

बागलुङ जिल्लामा एमालेका तर्फबाट निर्वाचित पालिका प्रमुख उपप्रमुखमा बागलुङ नगरापलिकाका मेयर जनकराज पौडेल, जैमिनी नगरपालिकाका उपमेयर लिला राना, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, उपमेयर करमती पुन, काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा र बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा एमालेमै रहनु भएको छ ।

पर्वत जिल्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमा फलेवास नगरपालिकाका उपमेयर मञ्जु अधिकारी, मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, उपाध्यक्ष सेती महत, महाशिला गाउँपालिका उपाध्यक्ष हिरा थापा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषाल र उपाध्यक्ष डम्बरकुमारी गुरुङ पनि एमालेमा रहनु हुने भएको छ ।

म्याग्दी जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना के.सी, धौलागिरी गाँउपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्याल एमालेमा रहनु भएको छ ।

मुस्ताङ जिल्लाका निर्वाजित जनप्रतिनिधिमा घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, दालोमे गाउँपालिका अध्यक्ष राजु विष्ट, उपाध्यक्ष ढोका गुरुङ र वाहगाँउ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङ एमालेमै रहनु भएको छ ।

देशमा नयाँ संघीय अभ्यास सँगै तीन तहको पहिलो पटक भएको निर्वाचनबाट पहिलो पार्टी बनेको एमाले विभाजन हुँदा नेपाल नेतृत्वको पार्टी संसदको चौथो ठुलो दल बनेको छ । एमाले विभाजित हुँदा पनि संसदको पहिलो पार्टी नै छ ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मङ्गलबार १०:०५
प्रतिक्रिया दिनुहोस्