राजश्व तिरेको १० मिनेटमै लाइसेन्स उपलब्ध गराइने
गण्डकी यातायात कार्यालयले सवारी चालक अनुमति पत्रको परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ । स्मार्ट लाइसेन्स वितरणका नाममा वर्षौँसम्म लाइसेन्स उपलब्ध गराउन नसकेर आलोचना खेप्दै आएका कार्यालयले अब भने राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र दिने दाबी गरेको हो ।
शुक्रबार अस्थायी परीक्षणकालीन चालक अनुमति पत्र वितरण कार्यको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गरे । मन्त्री खड्काले यातायात कार्यालयलाई पेपर लेस बनाउने योजना अनुसार अगाडी बढेको बताए । ‘समयको माग अनुसार सरकारी कार्यालयहरुको प्रविधियुक्त बनाउँदै लग्ने सरकारको योजना अनुसार यातायात कार्यालयलाई पेपर लेस बनाउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस वर्ष कागजमा भएका प्रमाणहरूलाई डाटामा इन्ट्री गर्ने काम सकिने छ, अब सेवाग्राही घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने छौँ ।’
मन्त्री खड्काले प्रदेशमा अहिले करिब ८७ हजार आवेदकहरू नयाँ लाइसेन्सको पर्खाइमा रहेको बताउँदै सार्वजनिक सवारीहरूमासमेत जिपिएस जडान गरी त्यसको सहजरुपमा निगरानी गर्ने योजनामा सरकार लागेको बताए ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले नागरिकहरूलाई लाइसेन्स लिन निकै समस्या भइरहेको बताउँदै अब ट्रायल विधि पनि नयाँ सिस्टम अनुसार सञ्चालन गर्ने योजना रहेको बताए ।










