म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ ।
बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ लाख रकम तिर्ने कबोल गरेरे सरकारी बलीको मार हान्ने हुनुभएको छ । खड्काले बुधवार नै कबोल रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइ सक्नुभएको छ ।
यस अघि २०७६ सालको दशैँको नवमीमा भगवतीमा २ लाख ८८ हजारसम्ममा सरकारी मारको बढीबढाउ भएको थियो । गत बर्ष कोरोना महामारीको कारण भगवतीमा सरकारी मार स्थगीत गरि दशैँको औपचारिक पुजाआजा मात्रै गरिएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ ।
यो क्षेत्रकै एतिहाँसिक कोट मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । ‘‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्, सोही बमोजिम बढीबढाउका क्रममा सरकारी मार हान्ने रकम बढ्दै गएको छ, पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले भन्नुभयो ।’’भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको छ । तत्कालिन बाइसे-चौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।










