प्रमुख समाचार

मर्स्याङ्दीको बाढीले एक जना बेपत्ता

मर्स्याङ्दीको बाढीले  एक जना बेपत्ता

सरोज ज्वारचन

@समय नेपाल

२०७८ असार २ गते बुधबार ०९:५७

मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ। बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी...

मर्स्याङ्दीको बाढीले गाउँपालिका, प्रहरी कार्यालयसहित बैंक र होटल बगायो

मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ।

बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए। उनका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छन्। सम्पर्कविहीन भएका ती कर्मचारीका बारेमा बुझ्न धारापानी प्रहरी चौकीका प्रहरी खटाएको डिएसपी खड्काले बताए।

बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था नरहेको स्थानीयले जनाएका छन्। अहिले पनि निरन्तर पानी परिरहेकाले उद्धारमा समेत जान नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ।  डिएसपी खड्काले गृह मन्त्रालयले पठाउने भनेको हेलिकप्टर अहिलेसम्म आउन नसकेको जानकारी दिए।

मौसममा सुधार नआएकाले हेलिकप्टर आउन नसकेको उनको भनाइ छ। जस्तोसुकै परिस्थितिमा पनि जनधनको क्षति हुन नदिन मनाङ प्रहरी लागि परेको उनले बताए।

सदरमुकाम चामे र ताल गाउँ बाढीले डुबानमा परे पनि थप क्षति भएको छैन। मंगलबार चामेका ६ घर बाढीले बगाएको थियो भने ताल गाउँका ४८ घर मर्स्याङ्दी नदीको डुबानमा परेको छ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०९:५७
प्रतिक्रिया दिनुहोस्