पोखरा | तनहुँमा फेरि चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ ।
बन्दिपुर गाउँपालिका वडा नं. २, कामी डाँडाकी १० वर्षीया अनुजा बिकको शुक्रबार साँझ साढे ६ बजेतिर चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो।
स्थानीयका अनुसार, डेढ किलोमिटर टाढा रहेको फुपु दिदीको घर जाने भन्दै आफ्नो घरबाट निस्किएकी अनुजा निकै बेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । सोही क्रममा काकाले बाटोमा अनुजाको चप्पल देखेपछि प्रहरीलाई खबर गरेर उनको खोजीलाई तीब्रता दिइएकोमा चितुवाले घरदेखि तल जंगलमा लगेर खाएको अवस्थामा शव भेटिएको बताइएको छ। झाडीमा घाँटी र दाहिने तिघ्राको भाग खाइसकेको अवस्थामा बालिकाको शब भेटिएको प्रहरीले जानकारी दिएको छ।
चितुवाको आक्रमणबाट पछिल्लो अवधिमा १५ जना बालबालिकाले ज्यान गुमाइसकेका छन्। यसमध्ये २०७४ देखि २०७६ सम्म दुई वर्षभित्र मात्रै नौ जना बालबालिकाले ज्यान गुमाएका थिए । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।










