स्याङ्जा असार २७/ स्याङ्जाको पुतलीबजार नगरपालिकामा उपमेयरसंग सुत्केरी आमा पोषिलो आहार वितरण कार्यक्रम प्रभावकारी बनेको छ ।नगरले उपमेयरसँग सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१र८२ मा १४ वटै वडाका गरि कुल २ सय ३२ जना सुत्केरी आमाहरुलाई पोषिलो खाना र सरसफाईका सामाग्री वितरण गरेको छ ।
सुत्केरी आमाको स्वास्थ्यमा सकारात्मक सुधार र सुत्केरी समयमा आमा र बच्चाको स्वास्थ्यका लागी खानुपर्ने आहार र अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिने उद्धेश्यले अभियान संचालन गरिएको हो । सो अभियानका क्रममा पुतलीबजार नगर उपप्रमुख देवी अर्यालद्धारा पुतलीबजारका १५ वटा स्वास्थ्य संस्थाहरुमा भएको तथ्यांक अनुसार कुल २३२ जना सुत्केरी आमाहरु प्रत्येकलाई नगद १ हजार ३ सय ७५ रुपियाँ सहित पोषिलो खाना अन्तर्गत अण्डा सेट, हर्लिक्स र सरसफाई सामाग्री अन्तर्गत स्याम्पु, बेबी आयल वितरण गरिएको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले जानकारी दिइन । प्राप्त तथ्यांकअनुसार हुनिकोट आधारभुत स्वास्थ्य केन्द्रमा १३ जना, राङ्खोला आधारभुत स्वास्थ्य केन्द्रमा २५, पेल्काचौर स्वास्थ्य चौकीमा ९, नागडाडा आधारभुत स्वास्थ्य केन्द्रमा ११, निरबिरे आधारभुत स्वास्थ्य केन्द्रमा ३७ जना, करेण्डाडा स्वास्थ्यमा १२ जना, बहाकोट स्वास्थ्य चौकीमा ६, चण्डीकालिका स्वास्थ्य चौकीमा १८, स्याङ्जा शहरी स्वास्थ्य केन्द्रमा १०, पौवैगौडे स्वास्थ्य चौकी १०, टक्सार स्वास्थ्य चौकी ९, ठुलाडिही स्वास्थ्य चौकीमा १६ , गणेशपुर स्वास्थ्य चौकीमा १४, कोल्मा स्वास्थ्य चौकीमा ६ र सातुपसल स्वास्थ्य चौकीमा ३६ जना गरी कुल २३२ जना सुत्केरी संख्या रहेको र उनिहरुलाई पोषण र सरसफाईका सामग्री वितरण गरिएको छ ।
उपमेयर संग पोषिलो खाना वितरण कार्यक्रम अन्तर्गत शुक्रबार वडा न १४ मा माघ देखी हालसम्म सुत्केरी भएका ७ जना आमाहरुलाई सुत्केरी आहार साथै सरसफाईका सामग्री वितरण गरिएको छ । सामाग्री वितरण गर्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सुत्केरी समय विषेश समय भएकाले आफ्नो र बच्चाको स्वास्थ्य र सरसफाईका बारेमा विशेष ख्याल गर्न आग्रह गरिन । उनले सुत्केरी समयमा आफ्नो र बच्चाको नियमित स्वास्थ्य परिक्षण, पूर्ण रुपमा खोप लगाउँन र पोषिलो आहारा खानुपर्नेमा जोड दिइन । महिलाको स्वास्थ्य र सरसफाईमा सुधार ल्याई मातृशिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नगरपालिकाले नियमित रुपमा यो कार्यक्रम संचालन गरिरहेको र कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो । कार्यक्रम वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य चिजा सुनार, नगर स्वास्थ्य अधिकृत ईश्वर थापा, सि अनमी अर्चना शर्मा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।










