ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र वजेट पारित,

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र वजेट पारित,
२०७८ असार ११ गते शुक्रबार ०२:५७

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम तथा वजेट नवौं नगरसभाद्धारा पारित गरेको छ । नगरको वडा स्तरीय योजना तथा कार्यक्रमको बजेट सिलिङमाथि भने असार २० गते छलफल हुनेभएको छ । कोभिड—१९ महामारीका...

बजेट सिलिङमाथि असार २० गते छलफल हुने .....

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम तथा वजेट नवौं नगरसभाद्धारा पारित गरेको छ ।
नगरको वडा स्तरीय योजना तथा कार्यक्रमको बजेट सिलिङमाथि भने असार २० गते छलफल हुनेभएको छ ।
कोभिड—१९ महामारीका कारण वडास्तरको योजना तर्जुमा नभएका कारण, विषयगत समितिमा छलफल गरि ल्याइएको वजेट र नीति कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
नगर प्रमुख देवकुमार नेपालीले सभामा प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कोभिडका कारण वैदेसिक रोजगारी गुमाएर घर फर्केका युवालाई ‘मेयर रोजगार कार्यक्रम’ सुरु गरिने उल्लेख छ । स्थानाीय स्रोत साधनको समूचित प्रयोगसँगै स्थानीय स्तरमा उत्पादनसँग युवालाई जोडने गरि वजेट तर्जुमा गर्ने कार्यक्रममा भनिएको छ ।
ढोरपाटन नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रर्वधन, प्रचार प्रसार र व्यवसायीक पर्यटन विकासका लागि ‘मिसन मिडिया, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरका पर्यटकीय स्थलको प्रचार प्रसार र डकुमेन्ट्री बनाउने समेतका कार्यक्रमहरु नीति कार्यक्रममा समावेश भएका छन् ।
यस्तै शैक्षिक कार्यक्रम अन्तरगत ‘मेयर शैक्षिक सुधार कार्यक्रम’ मार्फत नगरका सबै वडामा ‘एक वडा, एक नमूना विद्यालय’ निर्माण कार्यक्रम ल्याइएको छ । कोभिड महामारीको समयमा विद्यार्थीहरु विद्यालयमा भौतिक उपस्थिति सहित अध्यापन गर्न नसकिने अवस्थामा बैकल्पिक अध्यापन कार्यलाई जोड्न स्थानीय रेडियोहरुबाट पढाउने कार्यक्रम व्यवस्थापन गरिने भएको छ ।
उच्च शिक्षामा गरिव, विपन्न र जेहेन्दार विद्यार्थीका लागि ‘मेयर छात्रवृत्ति’ कार्यक्रम लागू गरिने भएको छ । नगरपालिका अन्तर्गत प्राविधिक शिक्षा अध्ययनरत तथा उच्च शिक्षामा इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, विज्ञान विषय अध्ययनरत गरिब, विपन्न जेहेन्दार विद्यार्थीहरुलाई कार्यविधि निर्माण गरी, छनोट प्रक्रियाबाट प्रत्येक विषयबाट ५-५ जना विद्यार्थीलाई सहयोग तथा प्रोत्साहनको व्यवस्था गरिने भएको छ ।
ढोरपाटन नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति कार्यक्रममा उल्लेख छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति कक्षमा बिरामी कुरुवाका लागि एसी सहितको क्याबिन कक्ष निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।
यस्तै नगरपालिका भित्रका अति विपन्न तथा फरक क्षमताले सक्षम नागरिकका १०० परिवारलाई प्रति परिवार ५ जनाका दरले यस आर्थिकमा ‘मेयर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत प्रति परिवार एक लाखको स्वास्थ्य बिमामा आवद्ध गरिने कार्यक्रम ल्याइएको छ । साथै महिला स्वास्थ्य स्वयम सेविकालाई आवश्यक प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ ।
यस्तै ढोरपाटन नगरपालिका वडा नंं ९ स्थित पाखाथरमा १५ शैयासहितको अस्पताल निर्माणको थालनी गरिने छ । नगरपालिकामा खेलकुद विकास गुरुयोजना तर्जुमा गर्ने साथै खेलकुद विकास समिति गठन गरी कार्यान्वयनमा ल्याइने भएको छ । पूर्णिमा मेलाको अवसरमा ‘मेयर रनिङ गोल्डकप’ प्रतियोगितालाई निरन्तरता दिईने कार्याम ल्याइएको छ ।
नगरका प्रत्येक नगरका टोलटोलमा जेष्ठ नागरिक कल्व गठन गर्ने र वजेट व्यवस्थापन गरि सेवा सुविधामा योजना बनाइने नीति ल्याइएको छ । यस्तै युवामा स्वयमसेवी भावना जागृत गर्न, सामाजिक जिम्मेवारी बोध गराउन, विपद् व्यवस्थापनमा योगदान गर्न तथा सामाजिक सुधारका कार्यमा परिचालन गर्न ‘युवा स्वयम सेवा कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
नगरपालिकाले हालसम्म सञ्चालन गरेका अपुरा योजनालाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याइने योजना ल्याईएको छ । साथै आर्थिक वर्षमा पनि पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखिने र नगरपालिका तथा वडा स्तरको प्रशासनिक भवन निर्माणमा वजेटले प्राथमिकता पाउने कार्यक्रम ल्याइएको छ ।
सञ्चार तर्फ नगरपालिकाभित्र सञ्चालित सामुदायिक रेडियोहरुको सवलीकरणका लागि आवश्यक वजेट व्यवस्थापन, रेडियो कार्यक्रमका लागि सहकार्य र स्थानीय मिडियाहरुलाई नगरमा सूचिकृत गरि लोककल्याणकारी बजेटको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरका साँस्कृतक सम्पदाको रक्षा, व्यवस्थापन र संस्कार, संस्कृति झल्कने झाँकी, परम्पराको नगर डकुमेन्ट्री निर्माण गरिने भएको छ । नगरभित्र रहेको उद्यम, व्यापार व्यवसाय पर्वधर्नका लागि स्थानीय ढोरपाटन उद्योग वाणिज्य संघसँगको सहकार्यमा तालिम, गोष्ठि तथा व्यवसायिक शिवर आयोजना गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय सहकारी व्यवस्थापन र प्रवर्धनमा जोड दिने नीति सभावाट पारित भएको छ । नगरबासीलाई स्वच्च खानेपानी व्यवस्थापन गर्न एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रममा उल्लेख छ । नगरभित्र दीर्घकालिन योजनाहरुको गूरुयोजना बनाउन वजेट व्यवस्थापन गरिने तथा यस आर्थिक वर्षभित्र नगरका खरका छाना पूर्णरुपमा हटाउने कार्यक्रमलाई तस्व्रता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरमा स्थानीय हाइड्रोपावरहरुको स्तरउन्नति, ठूला योजना सञ्चालनमा जोड दिने र ढोरपाटन जलाशययुक्त आयोजनालाई निर्माणमा प्रदेश तथा संघमा ताकेता गर्ने उल्लेख गरिएको छ ।
नगरको डिजिटल प्रोफाईल निर्माण गर्ने, नगरपालिकाको आर्थिक सामाजिक र साँस्कृतिक पक्ष समेटिएको डकुमेन्ट्री निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ । सुशासनयसक्त नगरका लागि कर्मचारीलाई तालिम, गोष्ठि र प्रोत्साहनको व्यवस्था, नियमित सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरुलाई जोड दिइएको छ ।
सामाजिक सुरक्षा भत्ता व्यवस्थापनमा चुस्तता, पञ्जिकरण प्रणाली व्यवस्थापन, मालपोत अनलाईन व्यवस्थापन, योजनाको छनौट र सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाहमा जोड दिइएको नीति कार्यक्रम पारित भएको छ ।
नगरसभामा उपप्रमुख करमति पुनले कुल ४४ करोड, ६५ लाख, १० हजार वरावरको वजेट प्रस्तुत गर्नुभएको छ । उक्त वजेटमाथि १० दिनसम्मको छलफलले आगामी असार २० गते अर्को सभाबाट पारित हुनेगरि सभा सकिएको छ ।

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०२:५७
प्रतिक्रिया दिनुहोस्