पोखरा साउन ४
आइतबार कास्की कारागारको ‘ए’ ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गर्नुपर्योे ।
बिबादित बिषय थियो कारागारको नेतृत्वमा नयाँ चौकीदार नियुक्तिको निर्णय । कास्की कारागारले विभागलाई चौकीदारको लागि अजय गुुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम पठाएको थियो । विभागले चाहिँ अजयको नाम चौकीदारमा सिफारिस गर्यो । अजयभन्दा अगाडि प्रकाश चौकीदार भइसकेका थिए ।
अहिले भने उनको ठाउँमा अजयलाई सिफारिस गरेपछि प्रकाशका समर्थकहरूले नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन् ।
अजय र प्रकाश दुवै ज्यान मुद्दामा आठ वर्षदेखि कैद सजाय भोगिरहेका व्यक्ति हुन् । थापा चाहिँ लागुऔषध मुद्दाका हुन् । कारागारभित्र प्रकाशका समर्थक धेरै भएको तर, अजयको नाम सिफारिस भएपछि आन्दोलन भएको हो । यो ब्लकमा अहिले अजय र प्रकाशका स्पष्ट दुई समूह देखिएका छन् ।
‘क’ ब्लकका प्रदर्शनकारी कैदीबन्दीले दुई कार्यकालअघिका चौकीदार प्रकाशलाई नै फिर्ता ल्याउनुपर्ने माग राखेका छन् । उनीहरूले ‘यस्तो नेतृत्व चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले प्रकाश पक्षधर कैदीबन्दीहरू नाराबाजीमा उत्रिएको जानकारी दिए ।










