घाईते नभएकाले छाउरा बासस्थान तर्फ लागे.....
हिलेजुके सामुदायीक वनक्षेत्रमा रहेको सिंचाई पोखरीमा खसेका चितुवाका छाउराको सकुशल उद्दार गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ टाकुरीको वनक्षेत्रको सिंचाई पोखरीमा बिहिबार चितुवाका दुईवटा छाउरा खसेका थिए ।
पानीमा तैरिएर बसेका छाउराको सकुशल उद्धार गरी जंगलतर्फ पठाईएको सामुदायीक उपभोक्ता समितिका अध्यक्ष मुक्तिराम आचार्यले बताउनुभयो । ‘हामीले वन डिभिजन कार्यालयलाई खबर गरेका थियौं, उहाँहरु नआउँदै छाउराको उद्धार भयो’ आचार्यले भन्नुभयो ‘डिभिजनको सल्लाह अनुसारनै छाउरालाई वनक्षेत्रमा छोडियो ।
पोखरीमा दुई काठ तेर्साएपछि छाउरा बाहिर निस्किएका थिए । माउ चितुवा भने कहिँकतै नदेखिएको आचार्यले बताउनुभयो । डिभिजन वनका अनुसार माउ चितुवाले बाटो देखाउन हिँडाएको बेला ती छाउरा पोखरीमा खसेको हुनसक्ने अनुमान छ । ‘थुनेर राख्न सकिने वा तत्कालै समुदायलाई प्रभाव पार्ने वन्यजन्तु होईन’ डिभिजन वन अधिकृत मुकुन्द्र प्रसाद अधिकारीले भन्नुभयो ‘हामी नपुग्दै समुदायले उद्धार गरेर जंगल पठाउनुभो, घाईते नभएकाले छाउरा बासस्थान तर्फ लागे ।’
बस्ती नजिकै रहेको वनक्षेत्र आसपासमा असार महिना लागेसँगै चितुवाको आवतजावत देखिन थालेको छ । केहि दिनअघि जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा पनि दिउँसोको समयमा चितुवा सडकमा हिँडिरहेको भेटिएको थियो ।










