पोखरा साउन २४/ पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने । यस अवधिमा ट्रेड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष मीनराज काफ्लेले ग्राहकलाई सुविधा दिने उद्देश्यले ग्रान्ड सपिङ फेस्टिभल योजना ल्याएको बताए । उनका अनुसार आगामी १० दिनको अवधिमा ग्राहकले मल भित्रका व्यावसायिक प्रतिष्ठानमा ५ सय र सो भन्दा माथिका दरमा सामान खरिद गर्न पाउनेछन् । मलले फेस्टिभल अवधिमा अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको हो । दशैं, तिहार लगायत चाडपर्वको अवसरमा भने छुट्टै योजना ल्याउने जानकारी उनले दिए ।
स्थापनादेखि नै मलले हरेक वर्ष साउन २४ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सामुदायिक विद्यालयका गरिब तथा जेहेन्ददार विद्यार्थीलाई छात्रवृत्ति वितरण र मलका उत्कृष्ट व्यवसायीलाई सम्मान जस्ता विभिन्न सामुदायिक कार्यक्रमको माध्यमबाट मनाउँदै आएको छ । ०६९ भदौ २४ गते विधिवत रूपमा दर्ता भएको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि ०७२ असोज २६ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।
प्रालिका प्रबन्ध सञ्चालक दीपककुमार मुल्मीले टे«ड मलले यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा सेवा गरिरहेको बताए ।मलमा मनोरञ्जन सेवा प्रदान गर्ने २ वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय भोजन प्रदान गर्ने रेस्टुरेन्ट र सौन्दर्यकरणका लागि स्तरीय लेडिज तथा जेन्ट्स हेयर सैलुन, पार्लर जस्ता विविध सुविधा छन् । विदेश पढ्न जाने विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गर्ने ३ वटा ख्यातिप्राप्त शैक्षिक परामर्शदाता कम्पनी छन् । कोरियाली स्किन केयर अस्पतालले हालै मलमा सेवा सुरु गरिसकेको छ।
मलले आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको व्यवसायी नवराज त्रिपाठीले बताए । उनका अनुसार मल व्यवस्थापनले ग्राहकको लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङको व्यवस्था गरेको छ । भवन भूकम्प प्रतिरोधात्मक छ र फायरफाइटिङ सिस्टम तथा स्मोक डिटेक्टरले सुसज्जित छ । ग्राहकको सुविधाको लागि बस्ने लबी, शौचालय, आवश्यकता अनुसार एस्कलेटर, लिफ्ट र र्याम्पको व्यवस्था छ ।










