जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन मा प्रहरीले चलाएको गोली लागेर जनाको मृत्यु भएको छ। ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ भने सिभिल अस्पतालमा तीन, केएमसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र एभरेस्ट अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
ट्रमा अस्पतालमा मृत्यु भएका नौ जनामध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए। सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन ।
विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ । ‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।










