पोखरा भदौ ३०/ नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र न १ का सचिव मनोज मल्लले आफ्ना पार्टी सभापतिलाई चिठी मार्फत सन्देश पठाएका छन । उनले पछिल्लो घटनाक्रमलाई लिएर युवाको हातमा नेतृत्व दिनलाई समेत सम्पुर्ण नेपालीको र यो पुस्ताको चाहना भएको भन्दै आग्रह समेत गरेका छन ।
सो चिठिमा उनी लेख्छन , श्रद्देय सभापति शेर बहादुर देउवाज्यू, जय नेपाल ।
जेन्जीको प्रदर्शनका क्रममा आक्रमणमा घाईते भई उपचाररत हुनुहुन्छ, शिघ्र स्वास्थ्य लाभको कामना । साथै तपाइँमाथि भएको सांघातिक हमलाको निन्दा गर्दछु ।
नेपाली काँग्रेसको स्थापना परिबर्तनका लागि थियो। देशमा अबस्थित रोग, शोक, भोक र सामन्तबादका बिरुद्द आवाज उठाउनका लागि थियो । आफ्नो स्थापनाकालदेखि निरन्तर क्रान्ति, आन्दोलन र संघर्ष गरेको गर्बिलो ईतिहास काँग्रेससंग छ।
ब्यबस्था परिबर्तनका लागि र देश संकटमा रहेको बेला उचित निकास दिनका लागि तपाइँको योगदान अतुलनिय छ, त्यसको लागि धन्यवादका पात्र हुनुहुन्छ तर पदलोलुपता र अकुत सम्पत्ति आर्जन हजुरको कमजोरी रहन पुगेको देखियो । त्यसको परिणामस्वरुप एक लोकतान्त्रिक योद्दाले भ्रष्टचारिको बिल्ला भिर्नु परेको छ र अन्तराष्ट्रियस्तरमा नै शिर झुकाउनुपर्ने अवस्था आएको छ ।
हुन त तपाइँ अस्पतालको बेडमा उपचार गराईरहँदा यो भनिरहनु मेरो अविवेकिपन हुन सक्छ तर वर्तमान संकटको घडिमा एउटा जिम्मेवार सभापतिको हैसियतले पार्टिबाट नैतिक रुपमा भएगरेका कमिकमजोरिको जिम्मा लिदै सभापतिको पदबाट राजिनामा दिनु सबैका लागि हितकर हुन्छ भन्ने लागेको छ । यो विवेकपुर्ण निर्णय गरिदिनको लागि हार्दिक अपिल पनि गर्दछु ।
हामीलाई चाहिएको छ नेपाली काँग्रेसको बलियो संगठन, हामीलाई चाहिएको छ समाजबादको पक्का अभ्यास, हामीले खोजेका छौ राष्ट्रियता, हामी चाहेका छौ पक्का लोकतन्त्र, हामीले चाहेका छौ स्वतन्त्रता, भ्रष्टाचार उन्मुलन, स्वरोजगार, आर्थिक समृद्दि आदि आदि । जुन तपाइँबाट हुन सकेन तपाईमा कुटिलता र राजनैतिक कौशलता पक्का पनि थियो तर आजका दिनसम्म हजुरको क्रियाकलापले देशको समृद्दि रोज्ने छाट कहिकतैबाट पनि देखिएन र नया पुस्तामा बितृष्णा मात्र झांगिएको देखियो जुन तपाईमाथिको आक्रमणले पनि पुष्टि गर्दछ ।
नेपाली कांग्रेसका कार्यकर्ता मात्र हैन आम नेपालीको चाहाना पनि गर्बिलो ईतिहास बोकेको समाजबाद, राष्ट्रियता र लोकतन्त्रको पक्षधर नेपाली कांग्रेसले जसरि देश संकटमा परेको बेला ब्यबस्था परिबर्तनमा अगुवाई गरेको थियो त्यसरि नै समुन्नत राष्ट्र निर्माणको लागि अगुवाई गरोस, नया आयाम लिएर आओस भन्ने नै हो ।
एउटा उदाहरणिय समय र पुस्ताको नेतृत्व गर्नुभयो अब एउटा बलियो र जनपक्षिय निर्णय गर्नुहोस र तत्कालै राजिनामा गरि जेन्जी पुस्तालाई नि आकर्षण गर्न सक्ने सक्षम नेतृत्वको हातमा बागडोर सम्हाल्ने जिम्मा दिनुहोस । गगन थापा, बिश्वप्रकाश पुस्ता अझ सक्नुहुन्न भने पुर्ण बहादुर खड्का, शेखर कोईराला, धनराज गुरुङ, चन्द्र भण्डारि पुस्तालाई पार्टिको बागडोर सम्हाल्न दिनुहोस किनकि हामी आम कार्यकर्ताले परिबर्तन चाहेका छौ, पार्टि नया सोच र सामर्थ्यले चलोस, देशले नया आयाम लियोस भन्ने चाहेका छौ । देशको ठूलो पार्टिको हैसियतले नेतृत्व लिने पार्टिलाई दिशानिर्देश र लगाम लगाउनमा चुकेका प्रशस्त घटनाक्रमहरु छन । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा देशको बदनामि कमाउनु परेको छ । देशभित्रै पनि पार्टिको झोलेको संज्ञा लिनु परेको छ । देशको ठूलो प्रजातान्त्रिक बिचार बोकेको लोकतान्त्रिक शक्ति भैकन पनि मुक दर्शक बन्नु परेको छ ।
देशमा जसले जे गरे पनि हुन्छ, जस्ले जे बोले नि हुन्छ भन्ने अराजक प्रबृति हावि हुँदै गैरहेको छ । शिक्षित वा अशिक्षित, अदक्ष वा अर्धदक्ष वा दक्ष, जागिरे वा ब्यबसायी वा पेशाकर्मि वा राजनितिकर्मि कोहि पनि देशको बर्तमान राजनैतिक अबस्थाबाट सन्तुष्ट छैनन । भ्रष्टचार, बेथिति, गरिबी, बेरोजगारि, अराजकतासंग लड्ने काँग्रेस तयार कसरी गर्ने । हजुरको पुस्ताले ब्यबस्था परिवर्तनको लागि गरेको संघर्ष, त्याग र बलिदान बर्तमान पुस्ताले नजरअन्दाज गर्ने वातावरण सिर्जना भएको छ । देशलाई बिकसित, उत्पादनमुखि, आर्थिक संबृद्दि, नया सोच र योजना चाहिएको छ जुन ब्यबस्था परिवर्तनका लागि बलिदानि दिएको पुस्ताले दिन सक्ने संभावना न्यून देखिएको छ । डिजिटल पुस्ताको युग आएको बेला पुरातन सोच र सामन्तवादि कृयाकलापका बिरुद्द जनता मात्र हैन कार्यकर्ता पनि मौन बस्न नसक्ने अबस्था सिर्जना भएको छ ।
आदरणिय सभापतिज्यू, तपाईं नै भन्नुस हामी काँग्रेसको कुन एजेण्डा लिएर गाउगाउ जाउ, के ईतिहास र बिरासतले मात्रै संगठन धान्न सक्ने अबस्था छ त रु आर्थिक उन्नति र बिकासका मुद्दा, रोजगारि सिर्जनाका बिषय, कुटनितिक पहलका बिषय, परराष्ट्र नितिका कुरा, बेरोजगारि समाधानका उपाय, आर्थिक उपार्जन र लगानिको सुनिश्चितता, गुणस्तरिय र निशुल्क शिक्षा र स्वास्थ्य, लैंगिक समानता, समतामुलक समाज, चेतनशिल र बिकसित समाजको एजेण्डा र मुद्दा कहिले तय गर्ने रु अराजकताले सिमा नाघेको बेला मौन बसेर डिजिटल पुस्ताले पत्याउला रु बिकसित नेपाल, संवृद्ध नेपालमा संगठित र भरोसालाग्दो काँग्रेसको आशा सहित, जय नेपाल ।
मनोज मल्ल
सचिव
नेपाली काँग्रेस
स्याङ्जा क्षेत्र न १, स्याङ्जा
मल्लले देशको पछिल्लो अवस्था र जेन जेडको आन्दोलनसंगै फेरिएको माहोल र सिर्जित परिस्थितिलाई लिएर सभापति देउवालाई चिठी लेखेका हुन । मल्ल स्याङ्जा काङ्ग्रेसको राजनीतिमा निकै सक्रिय रहदै आएका छन । युवाको मागलाई सम्बोधन गर्दै समयसापेक्ष रुपमा अघि बढ्नुपर्ने उनको धारणा रहदै आएको छ ।










