दुई दशकपछि पूरा हुँदैछ बागलुङ बसपार्क निर्माणको सपना !

दुई दशकपछि पूरा हुँदैछ बागलुङ बसपार्क निर्माणको सपना !
२०७८ असार १३ गते आईतबार ०६:१२

बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका—४ दापगरामा निर्माणाधीन आधुनिक बसपार्क निर्माण पूरा हुने चरणमा पुगेको छ । नगरविकास कोष टिडिएफको ऋण सहयोगमा बागलुङ नगरपालिकाले निर्माण थालेको बसपार्क निर्माण कालोपत्रेको चरणमा पुगेको हो । बागलुङ...

बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका—४ दापगरामा निर्माणाधीन आधुनिक बसपार्क निर्माण पूरा हुने चरणमा पुगेको छ ।

नगरविकास कोष टिडिएफको ऋण सहयोगमा बागलुङ नगरपालिकाले निर्माण थालेको बसपार्क निर्माण कालोपत्रेको चरणमा पुगेको हो । बागलुङ नगरपालिकाका ईन्जिनियर मनोज शर्माका अनसार बुधबारदेखि कालोपत्रेका काम सुरु भएको र एक दुई दिनमै कालोपत्रे पूरा हुनेछ ।

बसपार्क कालोपत्रेका लागि जिल्लामै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।
‘बसपार्क निर्माका अधिकांस भौतिक प्रगति सकिएको थियो, यहाँ कालोपत्रेका लागि आवश्यक प्रविधि नभएपछि केही दिन रोकियो,’ ईन्जिनियर शर्मा भन्छन्,‘बुधबारदेखि कालोपत्रेका काम सुरु भएको छ । मौसमका कारण सजिलोसंग काम गर्न पाईएको छैन । मौसमले साथ दियो भने आईतबारसम्म कालोपत्रेको काम सकिन्छ ।’ बसपार्क कालोपत्रेका लागि आसफल्ट प्रविधि प्रयोग गर्नुपर्ने र त्यसको प्लान्ट बागलुङमा नभएका कारण कालोपत्रेका लागि ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । अहिले पर्वतको जलजला गाउँपालिकामा यो प्रविधिको प्लान्ट जडान भएपछि कालोपत्रेका काम सुरु भएको हो । ‘बागलुङमा हामीसंग यो प्रविधि नभएको र अर्कोले कतिखेर सुरु गर्ला र कालोपत्रे गरौंला भने कुर्नुपर्दा ढिला भयो,’ इन्जीनियर शर्माले भने । कालोपत्रे सकिएपछि साईट क्लिलियर गर्ने र बसपार्क हस्तान्तरण गर्ने कार्य मात्र बाँकी रहने उनले बताए ।

बागलुङ नगरपालिका—४ उपल्लाचौरमा बसपार्क निर्माण गर्ने चर्चा सुरु भएको दुई दशकबाट उकालो लागिसकेको छ । उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७÷०५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो । बसपार्क निर्माणका लागि आवश्यक जग्गा नगरापालिकाले प्रयोग गर्ने र बाँकी जग्गा व्यवस्थीति खडेरीको रुपमा विकास गरी स्थानीयलाई फिर्ता गर्नेगरी स्थानीयले जग्गा दिएका थिए । जग्गा विकास समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढेको थियो । तर त्यसले समयमै मूर्त रुप धारण गर्न सकेन ।

२०६३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम नारायण शर्माले बसपार्क निर्माणका लागि भनेर उद्घाटन गरे पनि अर्को एक दशक कुनै काम अगाडि बढ्न सकेन । न त्यहाँ बसपार्क नै बन्यो न स्थानीयले आफ्नो जग्गा उपभोग नै गर्न पाए । स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिमाथि बसपार्क निर्माणको व्यापक दबाब परेपछि बागलुङ नगरपालिकाले बसपार्क निर्माणका लागि अग्रसरता लियो । अहिले बसपार्क निर्माणको सपनाले मूर्त हाँसिल गर्ने अवस्था बनेको छ ।

 गतवर्ष कोरोनाका महामारीका कारण काम पूरा गर्न नसकिएको भनेर गत कात्तिकमा दोस्रो पटक ६ महिनाका लागि म्याद थपिएको त्यो समय बित्दा पनि काम नसकिएपछि विभीन्न प्रश्न उठ्ने गरेको थियो । निर्माण कम्पनी आशिष सेवा जेभीले वि.स २०७६ साल कात्र्तिक २७ गते बसपार्क निर्माणको काम सक्ने गरी जिम्मेवारी लिएकोमा पहिलो पटक पहिलो पटक २०७७ बैशाख २५, दोस्रो पटक विस २०७७ कात्तिक मसान्त र तेस्रो पटक विस २०७८ बैशाख २५ गतेसम्म समय थप गरिएको थियो ।

बसपार्कको टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना तयार भएका छन् । आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । बसपार्क कालोपत्रेका लागि नयाँ प्रविधि आवश्यक रहेको हुँदा समस्या भएको निर्माण कम्पनीले बताउने गरेको थियो ।

बागलुङ नगरपालिकाले नगर विकास कोषसँगको समन्वयमा ८ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी नेपाल सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ । बसपार्क निर्माणका लागि ५२ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

बसपार्क निर्माण क्षेत्रमा रहेको ५९ रोपनी जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरी अन्य जग्गा व्यवस्थीत घडेरीको रुपमा विकास गरेर स्थानीयलाई फिर्ता दिने गरी जग्गा प्राप्तीको काम अगाडि बढेको थियो ।

बाग्लुङ पोष्टबाट साभार

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार ०६:१२
प्रतिक्रिया दिनुहोस्