पोखरा । आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा महानगरपालिका वडा नं. २१ मा निर्वाचन परिचालन कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।
बुधबार दुई स्थानमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै एमालेले चुनावी गतिविधि थप संगठित र प्रभावकारी बनाएको छ। वडा २१ अन्तर्गत पार्टीको आफ्नै भवन निर्मलपोखरी र कृस्ती–दोपहरेमा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको हो। कार्यालय उद्घाटनसँगै घरदैलो, मतदाता भेटघाट, अन्तरक्रिया तथा संगठन परिचालनलाई तीव्रता दिइएको एमालेले जनाएको छ।

उद्घाटन कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यालय उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी सदस्य हिरा गिरीले वर्तमान राजनीतिक अस्थिरता र राष्ट्रिय चुनौतीको समयमा देश बचाउनका लागि सूर्य चिन्हमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्र, राष्ट्रियता र स्थिरताको रक्षा गर्ने एकमात्र शक्ति नेकपा (एमाले) हो। त्यसैले फाल्गुन २१ मा सूर्यमा मतदान गर्नु आजको आवश्यकता हो।”
कार्यक्रममा उपस्थित एमाले केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं. २ का सूर्यध्वजाबहाक उम्मेदवार रश्मि आचार्यले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको विश्वास कहिल्यै धोका नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूले दिएको मत मेरो लागि शक्ति मात्रै होइन, जिम्मेवारी पनि हो। म तपाईंहरूको विश्वासलाई कहिल्यै कमजोर हुन दिने छैन।”

त्यसपछि खुला अन्तरक्रिया कार्यक्रम सञ्चालन भयो, जहाँ स्थानीय मतदाताले आफ्नो समस्या, सुझाव र अपेक्षा राख्नुभएको थियो। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधारसँग सम्बन्धित सवालहरू उठेका थिए। उम्मेदवार आचार्यले सबै विषयलाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा पार्टीका सक्रिय नेताहरू केशव आचार्य, तेजनारायण अधिकारी, कास्की २ निर्वाचन परिचालन कमिटी सचिव झपट रानाभाट, कृष्ण थापा मगर, एमाले महानगर अध्यक्ष जीवन आचार्य ,उमनाथ सुवेदी, राम गुरुङ लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले वडा २१ लाई एमालेको बलियो आधार क्षेत्र बनाउन निरन्तर खटिने प्रतिवद्धता जनाउनुभयो।
नेकपा (एमाले) पोखरा–२१ का अध्यक्ष राजेन्द्र बहादुर थापाले निर्वाचन परिचालन कार्यालयलाई “जनताको घर” को रूपमा विकास गर्ने बताउनुभयो। उहाँले भन्नुभयो:
“यो कार्यालय केवल चुनावका लागि मात्रै होइन, जनताका गुनासा सुन्ने, समस्या बुझ्ने र समाधान खोज्ने साझा थलो हुनेछ। पोखरा–२१ मा एमालेले विकास, सुशासन र सेवाको नयाँ मोडेल स्थापित गर्नेछ। फाल्गुन २१ मा सूर्य चिन्हको विजय सुनिश्चित गर्न हामी घर–घर पुग्नेछौँ।”

उहाँले वडा २१ लाई एमालेको ऐतिहासिक जित दिलाउन सबै कार्यकर्ता एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो।कार्यक्रम सन्चालन सचिव कुलदिप आचार्य तथा स्वागत उपाध्यक्ष रोशन भट्टराईले गरेका थिए।










