पोखरा फागुन २६/ कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ ।
डाँकाचोरी मुद्दामा कैद सजाय काटिरहेका बेला आन्दोलनको मौका छोपेर भागेका सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोक घर भएका उनलाई सोमबार दिउँसो नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा पृथ्वीचोकमा पक्राउ गरेको हो ।पक्राउ परेका सूर्य बहादुर २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए । त्यसबेला जेन–जी आन्दोलन भइरहेको र सोही क्रममा सिर्जना भएको भिडभाडको फाइदा उठाउँदै उनी जेलबाट भाग्न सफल भएको प्रहरीको भनाइ छ । डाँकाचोरी मुद्दामा अदालतले सजाय सुनाएपछि उनी कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्कीमा पठाइएको छ ।










