पोखरा । पोखरामा जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए । पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको डिएसपी बस्नेतले बताए । यसअघि २ गते पोखरा महानगरपालिका १० रामघाटबाट ८ ग्राम ३ मिलिग्राम ब्राउनसुगरसहित तनहुँ घरभएका पोखरा १० रामघाट बस्ने वर्ष २० को शिव गिरीलाई पक्राउ गरिसकेको छ ।
उनी विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिएको कास्की प्रहरीले जनाएको छ ।










