माउन्ट अन्नपूर्णमा नमूना निर्वाचन

माउन्ट अन्नपूर्णमा नमूना निर्वाचन
२०८३ बैशाख २८ गते सोमबार ०६:२४

पोखरा,२८ वैशाख/ पोखरा ३ नदिपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा नमूना निर्वाचन पक्रिया सम्पन्न भएको छ । सोमबार भएको नमूना निर्वाचन मार्फत निर्वाचन विधी र प्रक्रियाबारे विद्यार्थीहरुलाई सचेत गराउन नमूना...

पोखरा,२८ वैशाख/ पोखरा ३ नदिपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा नमूना निर्वाचन पक्रिया सम्पन्न भएको छ । सोमबार भएको नमूना निर्वाचन मार्फत निर्वाचन विधी र प्रक्रियाबारे विद्यार्थीहरुलाई सचेत गराउन नमूना निर्वाचनको कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्राचार्य सईन्द्रराज श्रेष्ठले बताए । नमूना निर्वाचन कार्यक्रम मार्फत संवैधानिक निकायको रुपमा रहेको निर्वाचन आयोगकै संरचनामा आधारित रहेर, ’निर्वाचन आयोग,माउन्ट अन्नपूर्ण’ समेत गठन गरिएको थियो। जसमा विद्यालयका प्राचार्य सईन्द्रराज श्रेष्ठ प्रमूख निर्वाचन आयुक्त, सञ्चालकहरु तेजबहादुर गुरुङ, चिजकाजी गुरुङ, चित्र गुरुङ र झम गुरुङ निर्वाचन आयुक्तको रुपमा रहेका थिए ।

प्रवक्ताको जिम्मेवारी शिक्षक शिव शंकर बस्याललाई दिइएको थियो भने त्यसैगरी परीक्षा प्रमुख शुभ श्रेष्ठ निर्वाचन अधिकृत, मतदान अधिकृतमा सेजल विजुक्छे रहेका थिए । उक्त नमूना निर्वाचनका निमित्त निर्वाचन आयोग, गण्डकी प्रदेशसंग समन्वय समेत भएको प्रवक्ता बस्यालले जानकारी गराएका थिए ।

नमूना निर्वाचन मार्फत् विभिन्न सदनको नेतृत्व समेत छनौट भएको थियो। जसमा पहेँलो सदनबाट कस्मिक विश्वकर्मा, हरियो सदनबाट प्रस्ताव विश्वास, निलो सदनबाट प्रकृति पून र रातो सदनबाट सायल पून सदन नेताको रूपमा छनोट भएका हुन् । सदन नेताहरु पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत् निर्वाचित भएका हुन् ।

उक्त निर्वाचनमा मतदाता नामावली संकलन, परिचयपत्र वितरण,उम्मेदवारी दर्ता, निर्वाचन घोषणापत्र तयारी , चुनाव चिन्ह वितरणपश्चात् स्वच्छ ,निष्पक्ष र धाँधलीरहित तरिकाबाट सम्पन्न भएको साथै नमूना सुरक्षाकर्मी, कर्मचारी, प्रतिनिधि समेतको व्यवस्था गरिएको मतदान अधिकृत सेजल विजुक्छेले जानकारी गराएका थिए ।

प्रमूख आयुक्त श्रेष्ठले यस्तो खालको नमूना निर्वाचनले विद्यार्थीहरुलाई निर्वाचनबारे स्पष्ट हुन मद्दत मिलेको बताए । त्यसै गरी निर्वाचन परिणाम घोषणा कार्यक्रममा बोल्दै आयुक्त चित्र गुरुङले निर्वाचनले विद्यार्थीहरुमा लोकतान्त्रिक विधी र प्रक्रिया, भविष्यमा राज्यका विभिन्न तहको निर्वाचनमा मतदान गर्न र प्रतिनिधिको रूपमा प्रत्याशी बन्न समेत प्रेरणा मिलेको बताए ।

कार्यक्रमबारे बोल्दै इसिए डाइरेक्टर तेजबहादुर गुरुङले विद्यालय तहदेखि नै विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताए । उनले निर्वाचन केवल मतदानमा सीमित विषय नभई नेतृत्व चयन, जिम्मेवारीबोध, अनुशासन र नागरिक सचेतनासँग प्रत्यक्ष जोडिएको प्रक्रिया भएको उल्लेख गरे ।

गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ । बिद्यालयले यसै वर्षदेखि कम्प्युटर साइन्सको पनि पढाइ शुरु गर्न लागेको छ ।

प्रकाशित मिति २०८३ बैशाख २८ गते सोमबार ०६:२४
प्रतिक्रिया दिनुहोस्