पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्लाभर आफ्नो सांगठनिक गतिविधि तीव्र बनाएको छ। पार्टीले वडा तहदेखि पालिकास्तरसम्म संगठन विस्तार, सदस्यता नवीकरण तथा प्रतिनिधि छनोट अभियानलाई सक्रिय रूपमा अघि बढाएको जनाएको छ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता चुडामणि खनालका अनुसार हालसम्म जिल्लाभर ५ हजार ८ सयभन्दा बढी सदस्य विस्तार गरिएको छ भने अधिवेशनसम्म १५ हजार सदस्य पुर्याउने लक्ष्य राखिएको छ।
रास्वपाले हालसम्म जिल्लाका १० भन्दा बढी वडामा अधिवेशन सम्पन्न गरी वडा कमिटी गठन गरिसकेको जनाएको छ। वडा कमिटी गठनपछि पालिकास्तरीय कमिटी निर्माण प्रक्रिया अघि बढाइने जिल्ला नेता गुरुदत्त सुवेदीले बताए।
यस्तै, पार्टीले जेठ ८ गते कुश्मामा “अधिवेशन विशेष कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सांसद सागर भुषाल को सहभागिता रहने जनाइएको छ।
जिल्ला अधिवेशन नजिकिँदै जाँदा रास्वपा पर्वतमा नयाँ नेतृत्व चयन र संगठन सुदृढीकरणबारे गतिविधि थप सक्रिय बनेको छ।










